आज्ञा खबर
पर्सा
वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात १।१३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
यो अवधिमा राजस्व सङ्कलनमा पनि ६।९१ प्रतिशतले गिरावट आएको छ। आव २०८१र८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको थियो।
गत आवको यही अवधिमा ४० अर्ब ३६ करोड ५० लाख १५ हजार रुपैयाँको तीन लाख ७० हजार ९२० किलोलिटर डिजेल आयात भएको थियो। चालु आवको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ।
चालु आवको पाँच महिनाको अवधिमा रु १६ अर्ब २१ करोड दुई लाख २७ हजार पर्ने एक लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको यही अवधिमा १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो। गत आवको पाँच महिनाको तुलनामा चालु आवको यही अवधिमा पेट्रोलको आयात १६ दशमलव २३ प्रतिशत र राजस्वको आधारमा भने १२।५२ प्रतिशतले बढेको कार्यालयले जनाएको छ।
मोतिहारी(अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ। नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ। रासस





































