निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका ७ किसान नगरस्थित फुलबारी टोलमा ५० लाख लागतको कालोपत्रे सडक निर्माणको काम सुरु भएको छ। किसाननगरको मध्यपुर्बी पृतना आर्मी ब्यारेकदेखी पुर्व गंगाराम महतोको घर सम्म ६ सय ४५ मिटर लम्बाईको पक्की सडक (कालोपत्रे) निर्माणको काम सुरु भएको हो।
सडकको कालोपत्रेको चौडाई साढे ५ मिटरको रहने छ। बर्दिवास नगरपालिकाको बजेट अन्तरगत निर्माणको क्रममा रहेको सडक निर्माणले त्यस गाउँका नागरिकले बृहत रुपमा बिकासको अनुभुती गरेको स्थानिय ब्रमदेब महतोले बताए । उनले भने अहिले र पहिलेको नगर प्रमुखमा आकाश जमिनको फरक छ। घर अगाडीकै बाटो पिच भईहाल्यो हामी मेयर साहबसंग एकदम खुशी छौ । बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले आफ्नो पहलमा यो सडक निर्माणको काम शुरु भईसकेको भन्दै यस क्षेत्रमा सडक बनेपछि यहाँका नागरिक बर्दिवासको मुख्य बजार लगायतका स्थानमा सजिलै आवतजावत गर्न सक्ने बताए।
उनले सडक निर्माणले यस क्षेत्रको आर्थिक विकासमा मद्दत मिल्ने भन्दै सडक निर्माणले यो भेगको जग्गाको दररेट समेत बढन सक्ने बिश्वास ब्यक्त गरे ।
मेयर क्षेत्रीले सडक निर्माणले यो गाउँका जनता खुशी भएको बताए। यसैगरी बर्दिवास नगरपालिकाका इञ्जिनियर लोकहरी घिमिरेले सडक गुणस्तरीय बन्ने विश्वास रहेको बताए।
उक्त सडक १२ महिना भित्र निर्माण हुने सम्झौता रहेपनि चाँडै सम्पन्न हुने घिमिरेको भनाई छ।
सडक निर्माणको ठेक्का पाएको त्रिबेणी कन्ट्रक्सन लालबन्दिले सडक निर्माण तोकेकै मितिसम्म सम्पन्न गर्ने जनाएको छ। सडक निर्माण सहज बनाउन स्थानीयको सहयोग आवश्यक रहेको निर्माण कम्पनीका ठेकेदार सिताराम आचार्यले बताए।





































