निकेश खानाल
बर्दिवास
पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस मधेशमा बलियो पार्टीको रुपमा स्थापित रहेको बताएका छन । नेपाली कांग्रेसको १०० दिने अभियान अन्तरगत सर्लाहीको ईश्वरपुर पुगेका उनले कार्याकर्ता भेटघाटको क्रममा यस्तो बताएका हुँन।
युवा पुस्तालाई सबैभन्दा ठुलो अवसर नेपाली कांग्रेसले दिएको भन्दै उनले भने, देशको सबै राजनितिक दलभन्दा ठुलो युवा पुस्ताको जमात नेपाली कांग्रेस भित्र छ, देशकै ठुला आन्दोलनमा र क्रान्तिमा सर्लाहीका नेता,कार्यकर्ता र जनताले सधै अग्रस्थानमा रहेर योगदान गरेकाले परिवर्तनकालागी ईतिहासले सधै सर्लाहीलाई सम्झने कुरा उल्लेख गरे । उनले पार्टी भित्रको अन्तरबिरोध समाधानकालागी सबै एकजुट हुनुपर्नेमा जोड दिदै त्यसको निराकरणकालागी कांग्रेसले १०० दिने अभियान सञ्चालनमा ल्याएको जनाए । उनले पार्टी भित्रको अनुशासनलाई कायमगर्दै नमिलेका बिषयमा नितिगत किसिमले छलफल र सम्बादको माध्यमबाट टुङ्गो लगाउन आफु सर्लाही आएको भन्दै कांग्रसलाई अब एकढीक्का बनाउनु पर्ने अवश्यकता औल्याए।
नेता साउदले लोकतन्त्रको विचार, सिद्धान्त र दृष्टिकोणलाई कांग्रेसले समातेर अघि बढेकोले कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढङ्गले रचनात्मक भूमिका निर्वाह गरेको जनाए ।यसै क्रममा नेपाली कांग्रेस सर्लाहीले मंगलवारदेखी १०० दिने अभियानको सुरुवात गरेको छ । पार्टी जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा सदरमुकाम मलंगवामा औपचारिक रुपमा अभियानको सुरुवात गरिएको हो ।
जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री एनपी साउँदको प्रमुख आतिथ्यतामा आयोजित अभियानको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य गोविन्द बहादुर साह, प्रदेश प्रतिनिधिका रुपमा मधेश प्रदेश उपभासपति चन्द्रशेखर यादव, पूर्व जिल्ला सभापति नागेन्द्र कुमार, मधेश प्रदेशसभा सदस्य जंगिलाल राय लगायतको उपस्थिति रहेको थियो ।
१०० दिने अभियान अन्तरगत जिल्लामा अधिवेशन हुन नसकेका विभिन्न तहको अधिवेशन गराउने, पार्टीको क्रियाशील सदस्यको सदस्यता नवीकरण अघि बढाउनेलगायतका काम हुने कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले जानकारी दिए ।