आज्ञा खबर
धनुषा
मधेस प्रदेशका करार चिकित्सकले मंगलबार जनकपुरस्थित स्वास्थ्य मन्त्रालय परिसरमा नाराबाजी गरेका छन् । संघीय सरकारले रकम पठाइसके पनि प्रदेश सरकारले तीन महिनादेखि तलब निकासा नदिँदा तीन महिनादेखि तलब नपाएको भन्दै उनीहरूले स्वास्थ्य मन्त्रालय परिसरमा नाराबाजी गरेको गुनासो छ ।
‘नो पे– नो ड्युटी, कम्पलिट पेन डाउन’ लेखेका प्लेकार्ड बोकेर प्रदेशको स्वास्थ्य मन्त्रालय परिसरमा पुगेका चिकिसकहरूले मधेस प्रदेश सरकार हरायो भन्दै नाराबाजी गरेका थिए । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको लापबाहीका कारण यो प्रदेशमा कार्यरत करिव एक सय छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले तीन महिनादेखि तलव पाएका छैनन् ।
आन्दोलनरत चिकित्सक डा. पुरुषोत्तम यादवका अनुसार छात्रवृत्ति करारमा नियुक्त विशेषज्ञ चिकित्सक, मेडिकल तथा नर्सिङ अधिकृतले तलब नपाउँदा चाडपर्वका बेला आफुहरुमा निरासा लागेको छ।
तीन महिनाको तलब बाँकी राखेको यो पहिलो पटक होइन,’ डा. यादवले भने, ‘मधेसको स्वास्थ्य मन्त्रालयले यसलाई ट्रेन्ड नै बनाएको छ । हरेक पटक आन्दोलन गर्दा मात्र तलब खातामा आउँछ ।’
तलब नपाएका चिकित्सकहरूले अब हरेक महिनाको मसान्तभित्र तलब पठाउने लिखित प्रतिबद्धता नदिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयमा नाराबाजी गरेपछि उनीहरूलाई मन्त्रालयले भने वार्तामा बोलाएको छ । अहिले आन्दोलनरत चिकित्सक र मन्त्रालयबीच वार्ता भइरहेको डा. यादवले जानकारी दिए ।





































