निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।
नगरपालिकाले खोपको सबै कार्य पूरा गरेपछि बुधबार एक कार्यक्रमका बिच पुर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो।
नगरपालिकाका १४ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई अनुगमनको कार्य समेत सम्पन्न भएपछि नगरले समेत पुनह प्रमाणीकरण गरेर अनुगमन गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख शुरेश पासवानले जानकारी दिए ।
आर्थिक वर्ष २०८०÷०८१ मा बर्दिवास नगरपालिकाको १४ वटै वडाका जन्मे देखि १ बर्ष सम्मका कुल १४ सय ६ अर्थात ९५ प्रतिशत भन्दा माथी बालबालिकाले १३ प्रकारको खोप लिएपछि पालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको बताईएको छ । बर्दिवास नगरपालिकाभित्र कोठाबहालमा लिएर बसोवास गरेका एक,दुई प्रतिशत मानिसका बालबालिका खेप लगाउन छुटेको हुन सक्ने अनुमान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले खोप कार्य निरन्तर चलिरहने भएकोले तोकिएको उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार नगरका सबै घरमा पुर्णखोप सुनिश्चितता र प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढेको बताए । उनले खोप लिने उमेर समुहका बालबालिका एक,दुई प्रतिशत अझै पनि छुटिरहनु दुखद विषय भएको भन्दै वडा स्तरका घर,घरमा सचेतना फैलाउन आवश्यक रहेको जनाए।
प्रमुख क्षेत्रीले बिगत दुईबर्षको अबधिमा पालिकाले स्वास्थ्य, शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको भन्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको उल्लेख गर्दै यसबाट पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको समेत जनाए । क्षेत्रीले शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरता दिन नगरभित्रका कुनैपनि बालबालिका खोपबाट वञ्चित हँुन नहुने प्रस्ट पारे ।
सो अवसरमा नगरपालिका भित्र रहेका सरकारी अस्पताल,स्वास्थ्य चौकी,स्वास्थ्य इकाईका स्वास्थकर्मीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकोमा सम्मान–पत्र प्रदान गरीएको थियो।