पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको उनकै घरमा काम गर्ने युबकले हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार साँझ गरेको पत्रकार सम्मेलनमा पूर्व राज्यमन्त्री रायको हत्या उनकै घरमा कामगर्ने रामउजैन र योजनाकार छिमेकी वीरेन्द्र रहेको सार्वजनिक गरेको हो ।
मलङ्गवा नगरपालिका–४ मा बस्दै आएका ८१ वर्षका रायको पुर्खौली गाउँ चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घर गएको मौका छोपी रायको उनकै घरमा काम गर्ने कविलासी नगरपालिका–३, घर भई चन्द्रनगर गाउँपालिका–१, रतनपुर बस्ने २५ वर्षीय राम उजैन रायले हत्या गरेका प्रहरीले जनाएको छ ।
पूर्व मन्त्री यादवको यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आइरहेको छिमेकी चन्द्रनगर गाउँपालिका–१, रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायले रामउजैनलाई दुई लाख रुपियाँ नगद र व्यवसायको लागि एउटा फर्मसमेत बनाइदिन्छु भनी हत्या गर्न लगाएको खुलेको छ ।

अहिलेसम्मको अनुसन्धानमा वीरेन्द्रको उक्साहट र प्रलोभनमा परेर रामउजैन एक्लैले पूर्व राज्यमन्त्री रायको हत्या गरेको खुलेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

साउन ७ गते मध्यरातमा रामउजैन आफैले पूर्व मन्त्री रायको हत्या भएको भन्दै गाउँले र प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटना लगत्तै रामउजैनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या गर्न प्रयोग गरिएको उखु काट्ने फर्सा (फलामको धारिलो हतियार) समेत बरामद गरेर सार्वजनिक गरेको छ ।

यसैगरी रामउजैन र वीरेन्द्र दुवैलाई सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।