रोटरी क्लबअफ बर्दिवासको अध्यक्षमा पुरी चयन

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
रोटरी क्लबअफ बर्दिवासकोअध्यक्ष पदमा बिष्णुराज पुरी चयन भएका छन्।शनिवार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा रोटरी क्लब अफ बर्दिवासका वर्ष २०२३÷२४ का अध्यक्ष कृष्ण प्रसाद गौतमले वर्ष २०२४÷२५ का अध्यक्ष बिष्णुराज पुरीलाई पद हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा वर्ष २०२४÷२५ का पदाधिकारी तथा कार्य समितीका सदस्यलाई सपथ ग्रहण गराइएको थियो । त्यसैगरी रोटरी क्लब अफकै युवाहरुको संगठन रोट्रयाक क्लबका अध्यक्ष पदमा सोही बर्षकालागी नारायण अधिकारी चयन भएका हुन् । रोट्रयाक क्लबका निबर्तमान अध्यक्ष रबिन पोखरेलले वर्ष २०२४÷२५ कालागी नारायण अधिकारीलाई पद हस्तान्तरण गरेको रोटरी क्लब अफ बर्दिवासले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मधेश प्रदेशकी शिक्षा तथा संस्कृती राज्य मन्त्री सारदादेबी थापाले विश्वव्यापी रुपमा आफ्नै प्रतिष्ठा कमाएको मानवीय संस्था रोटरीको छवि उच्च राख्न व्यवस्थित रुपमा अगाडि बढ्नुपर्ने बताएकी छिन ।

उनले रोटरीको मुल मान्यता नै सेवा गर्नु रहेकोले यसबाट व्यक्तिगत स्वार्थको कल्पना गर्न नसकिने बताईन।राज्य मन्त्री थापाले रोटरीले गर्ने आगामी दिनका कामहरुमा आफ्नो सहयोग सधै रहने बताईन।
त्यस्तै पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले बर्दिवास नगरपालिकाले नगरको बिकासकालागि सबै संघ संस्थाहरुसंग सहकार्यगरी काम थालेकोले नगरिकको आधारभुत आवश्यकतामा टेवा पुग्दै गएको बताए । उनले निर्वाचित पदाधिकारी तथा सदस्यलाई शुभकामना दिंदै रोटरीले आगामी दिनमा अझबढी रचनात्मक काम गरेर बर्दिवासको बिकासमा योगदान पुर्याउनु पर्नेमा जोड दिए । मेयर क्षेत्रीले अहिले नगरपालिकासंगको सहकार्यमा जो अगाडी आउछ उसैकोकाम छिटो छरीतो हुने भएकोले समयमै सम्पर्क गरेर समन्वय र सहकार्यको हात अघि बढाउँदै नगरपालिकासंग मिलेर काम गर्न आग्रह गरे ।

पदभार ग्रहण गर्दै अध्यक्ष पुरीले रोटरी क्लब अफ बर्दिवासले अगाडि सारेका शिक्षा, स्वास्थ्य सरसफाई जस्ता योजनाको जानकारी दिँदै आफ्नो कार्यकालमा क्लबले उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा वर्ष २०२३÷२४ मा गरेका कार्यक्रमहरूका बारेमा निवर्तमान अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी गराएका थिए । कार्यक्रममा क्लबका गतिविधिमा योगदान पुराउने सदस्य तथा अतिथिहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।