निकेश खनाल
बर्दिवास
बिभिन्न कानुनी बाधा अर्चनले लामो समयदेखि निर्माणकार्य रोकिएको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउन महोत्तरीको बर्दिवास ५ स्थित मरहा खोलामा शनिवार बृक्षा रोपण थालिएको छ।
कलेजका पूर्वाधार निर्माण गर्दा काटिन सक्ने रूखका कारण पर्यावरणमा पर्नसक्ने प्रतिकूल असर रोक्न वृक्षरोपण अभियान थालिएको बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीले भने, ’अहिले अदालतले यसै आशयको आदेशसमेत गरेको छ, हामी सो आदेशको पूर्ण पालना गरेर अघि बढ्दैछौँ।’
कानुनी बाधा अर्चन फुकाउन तथा यथाशिघ्र कलेजको निर्माण कार्य थाल्न नगरपालिकाको आयोजनामा बर्दिवास वडा नम्बर ५ स्थित मरहा खोलाको १२.२९ हेक्टर नदी उकास जग्गामा १९ हजार ६ सय ७० वटा बिरुवा रोपणकार्यको सुरुवात गरिएको प्रमुख क्षेत्रीको भनाई रहेको छ ।
कलेज निर्माणकार्य रोक्न भन्दै २०७८ माघ महिनामा दर्ता भएको रिटलाई सर्वोच्च अदालतले गत २०८० जेठ २९ गते खारेज गरेको हो। रिट खारेज गर्दै अदालतले प्रस्तावित जग्गामा भएका १ हजार ९ सय ६७ रूख कटान गर्नुअघि बर्दिवास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाले काटिने भन्दा दशप्रतिशत सङ्ख्या बढी रूखका बिरुवा रोप्न तथा रोपिएका बिरुवाको संरक्षण गर्ने र त्यसको वन तथा वातावरण मन्त्रालयबाट नियमित अनुगमनको सुनिश्चितता गर्न स्पष्ट निर्देश गरेको थियो ।
बृक्षा रोपण कार्यक्रममा महोत्तरी क्षेत्र नम्बर १ का संघिय संसद लक्ष्मी महतो कोईरी, मधेश प्रदेशकी शिक्षा तथा संस्कृती राज्य मन्त्री शारदादेबी थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल लगायत बर्दिवास नगरपालिकाका, शैक्षिक तथा सामाजिक संघ संस्था र आम नागरिक समाजको उपस्थिती रहेको थियो ।
कलेज आयोजनाको काम अघि बढाउन अब जग्गा भोगाधिकारको प्रक्रिया टुङ्गिसकेकोले जग्गाको भोगाधिकारसम्बन्धी फाइल वन तथा वातावरण मन्त्रालयबाट टुङ्गिएर विस्तृत परियोजना प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएपछि काम अघि बढ्ने बाटो खुल्ने नगरपालिकाले जनाएको छ । एक हजार शैयाको अस्पतालसहित कलेजको पूर्वाधार निर्माण गर्न २८ अर्ब ५४ करोड बजेट चाहिने आयोजना प्रस्तावमा उल्लेख छ।
बर्दिवास–४ माईस्थानको अटाबे खोल्सी पूर्व र भब्सीखोला पश्चिमको ५४. ५८४ हेक्टर क्षेत्रफलभित्र कलेज निर्माणका लागि प्रस्ताव गरिएको वन क्षेत्रको जग्गामा सानाठूला गरी हाल एक हजार नौ सय ६७ रूख छन्। निर्माण गरिने संरचना धेरैजसो भब्सी नदी उकास क्षेत्रमा पारिने हुँदा प्रस्तावित क्षेत्रमा रहेका रूख पनि सबै नकाटिने आयोजना निर्देशक देबीप्रसाद सुवेदीले बताए। ’प्रस्तावित क्षेत्रमा साना–ठूला गरी एक हजार नौ सय ६७ रूख गणना भएको छ, त्यसमा पनि आधाभन्दा कम रूख काटिने गरी काम गरिने स्पष्ट पारिएको छ’, सुवेदीले भने।
नेपाल सरकारको आर्थिक वर्ष २०७३÷७४ को नीति तथा कार्यक्रममा समावेश भई मुलुकका सातवटै प्रदेशमा एक÷एकवटा मेडिकल कलेज स्थापना गर्ने अवधारणाअनुसार मधेस प्रदेशको बर्दिवासमा मेडिकल कलेज निर्माणको प्रक्रियाले औपचारीकता पाएको हो ।