पर्यटकिय बिशेषता झल्किएको मधेश प्रदेश

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

धार्मिक पर्यटनका दृष्टिकोणले मात्रै नभई मधेश प्रदेश ऐतिहासिक अन्य पर्यटकीय गतिविधिको पनि अथाह बिशेषता झल्किएको प्रदेश हो।
तर देखिएका सम्भावनाहरुको ठोस योजनासहित पूर्वाधार निर्माणका साथै पर्यटकीय स्थलको सुधार र प्रचारप्रसार नहुँदा मधेश प्रदेशमा पर्यटक भित्रिने अवस्थामा कमी आएको छ । पर्यटकिय स्थलको सम्भावनामा ठोस योजनासहित पूर्वाधार निर्माण साथै पर्यटकीय स्थलको सुधार र प्रचारप्रसारलाई सुधार गर्नसकेमा प्रचुर सम्भाबना रहेको मधेशका पर्यटकीय स्थलमा पनी सजिलै पर्यटक भित्रने देखिन्छ।

सैक्रममा यो प्रदेशको सिरहामा अवस्थित पर्यटकिय स्थलहरुको शनिवार नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशले सिरहाको चहोर्वामा पर्यटन प्रर्बद्धनकालागी अन्तरक्रिया सहितको अबलोकन भ्रमण गरेको छ । महासंघका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता तथा मधेश प्रदेशका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युबराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको अबलोकन भ्रमणमा यो जिल्लाको पर्यटकिय स्थलहरुले बिशेष किसिमका बिशेषता झल्काएको छ ।

मिर्चैया हिल पार्क

सिरहाको मिर्चैया नगरपालिका वडा नं ६ स्थित निर्मित प्राकृतिक सौन्दर्यले भरिएको ‘‘मिर्चैया हिल पार्क आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित निर्माण गरिएको हो ।
पार्कको मथिल्लो भागबाट मिर्चैयाको पुरै दृष्य अबलोकन गर्न सकिन्छ।
यो पार्क राजमार्गबाट करीब ६ किलोमिटर उत्तरको दूरीमा अवस्थित रहेको छ।
यहाँ रक क्लाइम्विङ, इको पदयात्रा, रक गार्डेनिङ, भ्युटावर, वर्ड वाचिङ हाइकिङ समेतको व्यवस्था गर्न सकिने सम्भावना रहेको देखिएको छ ।
मधेशको मनोरम दृष्यले मानिसलाई लोभ्याउन
यस ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी प्रचारप्रसारमा ध्यान दिन आवश्यक देखिएको नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले बताए ।

यसैगरी पार्कलाई हरित उद्यान बनाउन सो स्थलमा शनिवार वृक्षरोपण गरिएको छ।

हात्ती दह सिमसार क्षेत्र

सिरहाको लहान नगरपालिका–१५ स्थित कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत रहेको हात्ती दह सिमसार क्षेत्र सिरहाकै प्रसिद्ध पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको
लहान बजारबाट करिब ७ किलोमिटर उत्तरतर्फ चुरे सघन बन क्षेत्रभित्र रहेको सो सिमसार क्षेत्र प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रले लोभ्याउने गर्दछ ।


करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस हात्ती दह सिमसार क्षेत्रलाई आकर्षक बनाउने यहाँको हरियाली जंगलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन् ।
त्यसैगरी ४ वटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यानको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँको संख्यामा पर्यटक यहाँ आउने गरेका छन् । छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको यो स्थानमा दैनिक २ सय देखि ३ सय पर्यटक आउने गरेको हात्ती दह सिमसार क्षेत्रसंरक्षण समितीका सदस्य मुङालाल चौधरीले बताए ।


पार्कभित्र संरक्षित वन्यजन्तुमा जंगली कालो भालु, चरीबाघ, दुम्सी, खरायोलगायत जनावर छन्, यसको सजिलै अवलोकन गर्न सकिनेछ ।
त्यसैगरी यस सिमसार क्षेत्रलाई आकर्षित बनाउन उद्यानभित्र फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक दृष्य निर्माण गर्नुका साथै पर्यटकका लागि पोखरीमा माछा हेर्दै बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

सलहेस फुलबारी

हरेक बर्ष बैशाख १ गते नयाँ वर्षको दिन सिरहाको लहानस्थित सलहेस फूलबारीमा रहेको हारमको रुखमा सुनाखरी फूल फक्रिन्छ। जुन फूल हेर्न ठूलो मेला लाग्ने गर्दछ। फुलको राजा सलहेसको र कुसमाको अधुरो प्रेम कहानीसँग जोडिएको सम्बन्ध छ।
राजा सलहेस १४औं शताब्दीका लोक नायक थिए, जो पराक्रमी, बधशाली र विद्वान थिए।

पकडिया गढका राजा कुहलेश्वरको दरबारमा सहलेस समान्य चौकीदार थिए। कार्यशैली, सुझबुझले उनलाई सबैले मानसम्मान दिने गरेका थिए। पछि राजाले उनलाई राजा पदवी दिए । सहलेशको नाच र किम्वन्तीमा पनि दुःख पर्दा गरिवहरुको गुहार माग्न जाने गरेको कुरा वर्णमा उल्लेख छ। लोक नायकले मात्रै गुहार सुन्ने विशेषता हुन्छ। यो विशेषताले सलहेस लोकप्रिय भए।


उनी जनतामा गएर जनताको कुरो सुन्थें। समस्याको समाधान गर्थे।
राजा कुहलेश्वरका चार छोरी थिए– रेश्मा, कुसमा, दोना र हीरा। उनीहरू तन्त्र विद्यामा पारंगत थिए। उनीहरू मालिन सम्प्रदायका थिइन्। राजका छोरीहरू सहलेशप्रति आकर्षित थिए। कुश्मा अलि विशेष थिइन्। सहलेसको विवाह भइसकेको थियो। उनीहरूको प्रेम विवाहमा परिणत हुन सकेन। कुश्मा उनको प्रतीक्षामा सहलेश फूलबारीमा हारमको रुखमा बसेकी थिइन्। उनले प्रत्येक नयाँ वर्षको दिनमा त्यहाँ प्रतिक्षा गर्थिन्।

त्यसैको प्रतिकको रुपमा आज पनि सुनाखरी फूल फुल्ने गरेको जनविश्वास छ। राजा सलहेशको गाथासँग जोडिएको सलहेस फुलबारीमा प्रत्येक वर्ष परम्परागत रूपमा मेला लाग्ने गर्दछ।
मधेश प्रदेशकै ऐतिहासिक महत्व बोकेका यस्ता पर्यटकिय सम्पदाहरुको संरक्षण तथा सम्बर्द्धन बिकासगरी अन्तरीक तथा बाह्य पर्यटक भित्रयाउन तिनै तहको सरकारको बिशेष ध्यान जान आवयक देखिएको छ ।