निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले माईस्थान मन्दिर परिसरमा रहेको पोखरीको संरक्षण गर्दै स्तरोन्नतिको कामगर्न शुरु गरेको छ। नगरपालिकाले माईस्थान मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं –४ मा रहेको सो पोखरीको संरक्षण गर्दै स्तरोन्नतिको काम थालेको हो ।
पुर्व पश्चिम महेन्द्र राजमार्गवाट सघनबन क्षेत्रको रमणिय दृष्य अलोकन गर्दै ६ सय ५० मिटर उत्तरमा रहेको नगरपालिकाकै प्रसिद्ध शक्तिपिठ माईस्थान मन्दिर हाताभित्र रहेको पोखरी संरक्षण तथा स्तरोन्नतिको लागि चालू आर्थिक वर्षमा नगरपालिकाले ३२ लाख ११ हजार ५ सय ११ रुपैयाँ ४९ पैसा विनियोजन गरेको छ भने जन श्रमदानबाट ५ लाख ६६ हजार ७ सय ३७ रुपैयाँ ३२ पैसा संकलन गरेर मर्मत सम्हार र स्तरोन्नतिको काम थालिएको योजना उपभोक्ता समितीका अध्यक्ष दानबहादुर थापा (बिष्णु) ले जानकारी दिए ।
उनका अनुसार हाल पोखरीको वरिपरि घेराबेरा गरी २६ सय ईस्क्वायरफिट ढुंगा बिच्छयाउने काम भइरहेको छ। पोखरीमा निर्माणकार्य सम्पन्न गर्न करीब ४ हजार ईस्क्वायरफिट ढुंगा लागत अनुमान गरीएको थापाको भनाई छ । करीब ५ सय ईस्क्वायर फिट क्षेत्रफल रहेको पोखरीको स्तरोन्नतीको काम यो आर्थिक बर्षमा छुट्याएको बजेटले सम्पन्न हुँन नसके आउने आर्थिक बर्षको बजेटमा समायोजन गरेर काम सम्पन्न गरीने बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताए । उनले भने ,पर्यटकीय गन्तव्यको रूपमा यस ठाउँको विकास गर्न आगामी दिनमा पनि नगरपालिकाले निरन्तरता दिने छ।
सो पोखरीको नजिकै पश्चिम पट्टी वनभोज स्थल समेत निर्माण भएका छन।
मन्दिर परीसरमा खानेपानीको धारा र शौचालयको उचित ब्यवस्था मिलाईएको छ।
यसैगरी यहाँ आउने पर्यटक यस पोखरी तथा मन्दिर क्षेत्रमा रमाउनुका साथै मन्दिरमा गरीएको भाकलले मनोईच्छा पुरा हुने मन्दिर परीसर नजिकै रहेको पञ्चधुरा पार्टी प्यालेस तथा होटलका सञ्चालक स्थानिय मणिराज निरौलाको भनाई छ ।
उनि भन्छन पर्यटकको प्रचुर सम्भावना रहेकाले यसको संरक्षण गर्दै पर्यटकलाई यो ठाउँको मनमोहक दृष्यको अबलोकन गराउँदै आकर्षित गर्न सबैको ध्यान जान अवश्यक छ ।
एक वर्षअघि यो मन्दिरलाई राजमार्गसंग जोडेर कालो पत्रे गर्न नगर प्रमुख प्रह्लादजीले नगरबाट बजेट हाल्नु भयो अहिले राजमार्गबाट ५ मिनेट भित्रमा सरर गाडीबाट सहज रुपमा यहाँ आईपुगिन्छ
संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रको बिकासकालागि बिस्तारै स्थानिय सरकारको ध्यान केन्द्रित हुन थालेपछि पर्यटक आगमनमा बृद्धि हुने स्थानीयले अपेक्षा गरेका छन्।
बर्दिवास नगरका यस्ता पर्यटकीय र ऐतिहासिक स्थलको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ नगरपालिका मात्रै होईन अरु माथिल्लो दुई तहको सरकारको ध्यान जान समेत आवश्यक देखिएको छ ।