आज्ञा खबर
धनुषा
धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको जानकारी दिए । रुबीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो ।
गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका थिए।
उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरी निरिक्षक साहले बताए ।
रुबी बेपत्ता भएको उजुरी पर्ने बित्तिकै रुबीका श्रीमान् राजनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरी निरिक्षक साहका अनुसार राजनारायणले गत शनिबार घुम्न जाने भनेर औरही सामुदायिक वनमा श्रीमतीलाई लिएर गएको र त्यहीँ उनले बयान दिएका छन् ।
प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक साहले जानकारी दिए ।