आज्ञा खबर
बर्दिवास
महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ । महोत्तरीको भंगहा नगरपालिका १ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि कुटपिट भएको हो । कुटपिटबाट घाइते जग्तारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ । गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमा पसेर आफूमाथि कुटपिट गरेको घाइते जगतारनले बताइन् । कुटपिट गर्ने राजेशको आफन्तका दुई महिना अघि दुई महिने शिशुको मृत्यु भएको थियो ।
त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको र सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि लात, मुक्का, फाइटले शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको पीडित जगतारनको दाबी छ । जगतारको पति वैदेशिक रोजगारीमा छन् । यता महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारमाथि समान्य बिबादमा कुटपिट भएको बताए ।
तर बोक्सी आरोपमा भएको भन्ने जानकारीमा नआएको डिएसपी जयसवारको भनाइ छ । उनले पीडित सम्पर्कमा आए सोही अनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने बताए ।