आज्ञा खबर
सर्लाही
सर्लाही जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित सिन्धुली र महोत्तरीसँग सीमा जोडिएको घारिबथानका स्थानीयले लामो समयदेखि प्रहरी चौकीको माग गर्दै आएकोमा अब त्यो पुरा भएको छ।
ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिदा स्थानिय खुशी भएका छन ।
घारिबथानस्थित वडा कार्यालय नजिकै एक स्थानीयको घर भाडामा लिइ अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षक (असइ) को नेतृत्वमा ७ जना प्रहरी रहने सर्लाही प्रहरीले जनाएको छ ।
सोमबार बिहान ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह र घारिबथानका वडाध्यक्ष देविबहादुर खत्री भएर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
साबिकको सिंगो कालिन्जोर गाविस र हालको ईश्वरपुर नगरपालिका १२ मा पर्ने घारिबथानमा नौ किलोमिटर टाढा रहेको पूर्व पश्चिम राजमार्गस्थित प्रहरी चौकी फूलजोरबाट शान्ति, सुरक्षा प्रदान हुँदै आएको थियो ।
अब भने गाउँमै अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि स्थानीय खुसी भएका छन् । भौगोलिक रुपमा अत्यन्त ठूलो भूगोल पर्ने घारिबथानमा त्यहाँका खोला, खोल्सा हुँँदै लागूऔषधको ओसारपसार हुने गरेको पाइएपछि प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं सर्लाहीका प्रमुख जिल्ला अधिकारी अधिकारीले घारिबथानको अस्थायी प्रहरी पोष्टलाई स्थायी बनाउन पहल गरिने बताए । वडाध्यक्ष खत्रीले प्रहरी पोष्ट स्थापना भएसँगै स्थानीयवासी, कार्यालय, विद्यालय र वित्तीय सङ्घसंस्थाले शान्ति, सुरक्षाको महशुस गरेका बताए ।
उनले वर्षौको प्रतिक्षापछि वडामा प्रहरी पोष्ट स्थापना भएको भन्दै खुसी व्यक्त गरेका छन् । नगरप्रमुख आचार्यले नगरको विकट क्षेत्रमा पर्ने वडामा प्रहरी चौकी स्थापना गर्न पहल गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
अस्थायी प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा भैरवी दलगण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख देवराज लिम्बुलगायतको आतिथ्यता रहेको थियो ।
इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले संचालन गरेको अस्थायी प्रहरी पोष्ट उद्घाटन कार्यक्रमका सहभागीलाई वडा सदस्य खेमबहादुर बुढाथोकी (दिनेश) ले स्वागत गरेका छन् ।