जुडिबेलाको मुख्य बाटोको कालोपत्रे काम गुणस्तरहीन

[sharethis-inline-buttons]

रौतहट : चन्द्रपुर नगरपालिका वडा नं–२ जुडिबेलाको मुख्य बाटोको कालोपत्रे काम गुणस्तरहीन भएको नगरप्रमुख संजय काफ्लेले बताएका छन्।

नगरप्रमुख काफ्लेले हाल गर्दै आएको सडकको काम गुणस्तरहीन भएको र सडकमा नै जलाशय बनेको कारण तुरुन्त सच्चाउन निर्माण कम्पनीलाइ निर्देशन दिएको हो। सडकको मापदण्ड तोकिए बमोजिमको काम गर्न उनले निर्माण कम्पनीलाई सुझाव दिए।

चन्द्रपुर नगरपालिका वडा नं–२ स्थित जुडिवेलामा निर्माण कार्य भइरहेको कालोपत्रे सडकको बिहीबार स्थलगत निरीक्षण गर्दै उनले उक्त निर्देशन दिएका हुन्। कालोपत्रे सडक मापदण्डअनुसार नभएको र काममा लापरबाही भएको जनगुनासो आएपछि आफू स्थलगत निरीक्षणका लागि आएको उनले बताए।

सडक कालोपत्रेको काम जुनसुकै निकायले गरेको काम भए पनि कमसल र झाराटारी नगर्न र गुणस्तरीय हुनुपर्नेमा उनले बताए। सडक मोटाइ नपुगेको, लेभलिङ नमिलेको, पानी परेको अवस्थामा समेत ठेकेदार कम्पनीले कालोपत्रे गरेको गुनासोका आधारमा आफू अनुगमनमा आएको बताए।

नगरप्रमुख काफ्लेले सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको हुन सक्ने बताए। यद्यपि प्राविधिक तथा इन्जिनियरले यसको मूल्यांकन गर्नुपर्ने उनको तर्क छ। जुडिवेलाका अगुवा नेता प्यारो कार्कीका अनुसार कालोपत्रे सडकमा नै वर्षातको पानी जम्ने गरेको छ।

कालोपत्रे सडकबाट पानी नालामा नबग्नुले लापरबाही तरिकाले काम भएको उनले आरोप लगाए। पटक-पटक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई सम्झाउँदासमेत बेवास्ता गरेको उनको आरोप छ।

जुडिबेलाको प्रवेशद्वारदेखि असनवा सम्मको मूल सडकको दायाँबायाँ नाला सहितको कालोपत्रे, नयाँबस्तीको सडक ढलान तथा गैँडाटारको हाट बजार व्‍यवस्थापनको लागि ठेक्का लागेको थियो। सो ४ वटा योजना सम्पन्न गर्नका लागि १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाँको लागतमा विनायक/प्रजिल जेभी भक्तपुरले ठेक्का लिएको छ।

सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भए तापनि निर्माण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयाँमा सकार गरेको छ। अहिले सोहीअन्तर्गत जुडिबेला प्रवेशद्वारबाट कालोपत्रे सडक निर्माण कार्यले तीव्रता पाएको हो।

दुईतर्फ नालाको काम सकिएको छ भने कालोपत्रेको काम पनि आन्तिम चरणमा पुगेको ठेकेदार निर्माण कम्पनीले जनाएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामा यो बसपार्क बन्न लागेको हो। ठेकेदार निमार्ण कम्पनीले सो योजना आउँदो २०८१ असोज १५ गतेभित्र निर्माण गरिसक्नु पर्नेछ। श्रोत थाहा खबर