सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

[sharethis-inline-buttons]

अमज्ञा खबर
धनुषा
सञ्चार उद्यमी कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले शुक्रबारदेखि थप तीन हिरासतमा राख्ने अनुमति दिएको हो ।

अदालतको पाँच नम्बर इजलासमा पेस गरिएपछि पक्ष विपक्षका वकिलहरूको बहस सक्काएर न्यायाधीश ज्ञवालीले सिरोहियालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिल र प्रहरीलाई आदेश दिएका हुन् ।

उनलाई अदालतले दिएको तीन दिनको म्याद सकिएपछि थप्नका लागि शुक्रबार इजलासमा पेस गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागेका थिए । तर अदालतले तीन दिन मात्रै समय दिएको हो ।

सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोलीले बहस गरेका थिए । उनीहरूले फरक नम्बरका दुईवटा नागरिकता दिनु राज्यको गल्ती भएको जिकिरसहित सिरोहियालाई बाहिरै बसेर प्रक्रिया अघि बढाउन दिनुपर्ने बताएका थिए । तर अदालतले उनीहरूको जिकिरअनुसार आदेश नदिएको बताईएको छ ।

सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले बहस गरेका थिए । सिरोहियालाई नागरिकता प्रकरणमा यही मंगलबार काठमांडौबाट पक्राउ गरी धनुषा ल्याईएको थियो ।