पर्या पर्यटन प्रवर्द्धनको को लागी अन्तरक्रिया सहितको अबलोकन भ्रमण

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशले पर्सा राष्ट्रिय निकुञ्जको पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनको बिकासकालागी शनिवार अन्तरक्रिया सहितको अबलोकन भ्रमण गरेको छ।
पर्सा, बारा र मकवानपुर जिल्लाको वन क्षेत्रलाई समेटेर रहेको पर्सा राष्ट्रिय निकुञ्जले पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा सोचेको जस्तो बिकास गर्न सकेको छैन । मधेश प्रदेशकै एक मात्र राष्ट्रिय निकुञ्जको रूपमा रहेको पर्यटकीय आकर्षणको थलो र आम्दानीको स्रोतलाई बलियो बनाउन सक्ने यो स्थानमा पर्या पर्यटनको प्रसस्त सम्भाबना रहेपनी प्रचार प्रसारको अभावमा यो स्थान ओझेलमा परेको देखिएको छ ।
यो क्षेत्रको पर्यटन प्रवर्द्धनलाई रणनीतिक योजना बनाएर अघि बढाउन नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशले चालेको कदम अनुसार लैजान सकेमा पर्यटन क्षेत्र र अन्य व्यापार व्यवसायमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा ठुलो आम्दानीको श्रोत बन्न सक्ने । नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले बताए । उनका अनुसार निकुञ्ज भित्र रहेका केही प्रबद्धन बिकासका अधुरा कामलाई सरोकारवाला निकायसंग मिलेर पुरागर्न सकेमा सोचे जस्तो प्रतिफल लिन सकिन्छ ।
पूर्व–पश्चिम राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा निकुञ्जको बाटो हुँदै बर्सेनि हजारौँको सङ्ख्यामा भारतीय पर्यटक सौराहा जान्छन् । तर हरेक वर्ष पर्सा राष्ट्रिय निकुञ्जमा छिटपुट भारतीयसहित धेरै कम मात्रामा आन्तरिक पर्यटक यहाँ घुम्न आउने गरेको देखिन्छ ।
निकुञ्जभित्र पर्यटकहरूका लागि अवलोकन गर्ने प्रशस्त प्राकृतिक तथा मनमोहक दृश्य, दुर्लभ वन्यजन्तुहरूको वासस्थान भए पनि प्रचारप्रसारको अभावमा यो निकुञ्ज ओझेलमा परेको छ ।
यो निकुञ्ज जङ्गली हात्तीको मुख्य वासस्थान हो । निकुञ्जभित्र दुर्लभ पाटेबाघ, गौरीगाई, गैँडा, भालु, सालक, जरायो, चितुवा, चित्तल लगायत ३७ प्रकारका स्तनधारी जनावर, ४९० प्रकारका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रकारका पुतली अवलोकन गर्न सकिन्छ ।
यसैगरी पर्सा राष्ट्रिय निकुञ्जले पर्यटन प्रवद्र्धन गर्न चितवन राष्ट्रिय निकुञ्जसँग सहकार्यको तयारी गरेको निकुञ्ज प्रमुख रामचन्द्र खतिवडाको भनाई छ । उनले भने, चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकलाई एउटै टिकटमा पर्सासम्म र पर्सा निकुञ्ज प्रवेश गर्नेले सहज ढङ्गले चितवनसम्म घुम्न सक्ने व्यवस्था मिलाउन लागेका छौ ।
पर्सा निकुञ्ज भित्र हाल चितवन राष्ट्रिय निकुञ्जमा पाइने सबै खाले दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी पाइन्छन् । यी दुवै निकुञ्जलाई सँगसँगै लैजान सके पर्या–पर्यटनमा ठुलो फडको मार्नुका साथै देशको राजस्व बृद्धिमा समेत टेवा पुग्ने सम्भाबना देखिन्छ ।