आज्ञा खबर
धनुषा
धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि मृतक पक्षका आफन्तहरुले शिक्षण अस्पतालमा तोडफोड गरिएको छ ।
लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको आज बिहान ९ बजे मृत्यु भएको हो ।
सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।
अनितालाई सुत्केरी व्यथा लागेपछी शनिवार मध्यरातमा अस्पताल पुर्याईएको थियो । आइतबार करिब ११ बजे शल्यक्रिया मार्फत सुत्केरी गराइएको उनको बच्चा सकुशल छन् ।तर आमाको मृत्यु भएपछि उनका आफन्त आक्रोशित हुँदै अस्पतालमा तोडफोड गरेका थिए ।
मृतकका आफन्तले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरू तोडफोडमा उत्रेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।
घटनापछि अस्पतालमा प्रहरी र जनप्रतिनिधि पुगेर छलफलको वातावरण बनाएपछि अवस्था सामान्य बनेको छ ।