आज्ञा खबर
वीरगन्ज
मधेस प्रदेश सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि दुई पक्षबिच हानथाप चलिरहेको छ ।
मुख्यमन्त्री यादवले रातोपाटीसँग कुरा गर्दै आफ्नै नेतृत्वको सरकारले विश्वासको मत लिन सफल हुने दाबी गरे । उनले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, म विश्वासको मत लिएर देखाउँछु । चौथो पटकजस्तै पाँचौँ पटक पनि म त्यसमा सफल हुन्छु, मेरो ग्यारेन्टी छ ।’
जसपा नेपालले खासगरी केन्द्रमा प्रतिपक्षी भूमिकामा रहेका कांग्रेस, लोसपा, जनमतलाई समेटेर नयाँ सरकार गठन गर्ने र उनीहरूकै समर्थनमा विश्वासको मत लिने योजना बनाएको छ ।
यसो गरेको खण्डमा प्रतिपक्षी दलहरूबाट कांग्रेसको २२, लोसपाको ८, जनमतको १३ र जसपा नेपालको १९ प्रदेश सांसदको समर्थन हुन जान्छ । अर्थात् यी दलहरूबाट ६२ जना प्रदेश सांसदको समर्थन हुन्छ, जुन सरकार निर्माणको लागि पर्याप्त हो ।
स्रोतका अनुसार जनमतलाई फकाएर विश्वासको मत लिने जसपा नेपालको पहिलो योजना छ । पहिलो योजनामा सफल नभए जसपा नेपालले आफ्नो नेतृत्व परिवर्तन गरेर आफू सरकारमा रहने गरी अर्को योजना अपनाउने तयारीमा रहेको जसपा नेपालका एक प्रदेश सांसद बताउँछन् ।
उनले भने, ‘यदि जनमतले जसपा नेपालको नेतृत्वमा स्वीकारेनन् भने अर्को उपाय अपनाइन्छ, त्यसपछि आफू नेतृत्व छाडेर अरु प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाइन्छ । तर जसपा नेपाल मधेस सरकार बाहिर रहँदैन, त्यो लगभग निश्चितजस्तै छ ।’
संवैधानिक प्रावधान अनुसार सरकारबाट समर्थन फिर्ता लिएको ३० दिनभित्र सदनबाट मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । यही प्रावधानलाई टेकेर मुख्यमन्त्री यादवले केन्द्रको समन्यव अनुसार प्रदेशका अन्य दलहरूसँग छलफलमा जुटेका छन् ।
नेतृत्वको विषयमा ४ दलमै खटपट सुरु
यता आइतबार साँझ सरकारबाट बाहिरिएका माओवादी र एमाले दुवै दलले सरकार निर्माणको छलफललाई तीव्रता दिएका छन् ।
माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज भट्टराई (समीर) का अनुसार सोमबार बिहानदेखि सरकार गठनबारे आन्तरिक छलफल सुरु भएको छ । उनले भने, ‘सोमबार बिहानदेखि हामीले ४ दलका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छौँ । ४ वटै दलका प्रमुखसहित जिम्मेवार व्यक्तिसँग आन्तरिक छलफल भइरहेको छ । तर निचोडमा पुग्न सकिएको छैन ।’
भट्टराईका अनुसार सरकारको नेतृत्व कसले गर्ने भन्नेमा ४ दलबिच विवाद छ । ‘सरकारको नेतृत्व पहिला कसले पाउने भन्ने विषय अहिले गम्भीर छ, किनकि सबै दलले आफ्नै नेतृत्वमा सरकार गठन होस् भन्ने इच्छा राख्न थालेका छन्,’ उनले भने ।
लोसपा र जनमत निर्णायक
एमाले र माओवादीले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेसको राजनीति अस्थिर बन्दै गएको हो ।
केन्द्रको सत्ता पक्ष र प्रदेशको सत्ता पक्ष आ–आफ्नै नेतृत्वमा मधेस सरका गठनका लागि प्रयत्नशील रहँदा साना दलहरूको बार्गेनिङ पावर बढेको छ ।
मधेसमा जसपा नेपाललाई कांग्रेसले साथ दिने सम्भावना बढी छ । एमाले र माओवादी संयुक्त रुपमा सरकार बनाउने रणनीतिमा छन् । जसपा नेपाल र कांग्रेस एक ठाउँमा हुँदा लोसपा र जनमत निर्णायक हुने देखिन्छ । यी दुई दल जुन खेमामा जान्छन्, त्यही खेमाको सरकार निर्माण हुने सम्भावना प्रवल रहन्छ । तर निर्णायक भूमिकामा पुगेसँगै लोसपा र जनमतले मुख्यमन्त्री माग गर्न थालेकाले दुवै खेमालाई अहिले अप्ठ्यारो भइरहेको छ ।
रातोपाटी बाट साभार