दाइजो नलिई विवाह गर्ने दुई दम्पति बीरगंजमा सम्मानित

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
दाइजोनलिई विवाह गरेका दुई दम्पतिलाई वीरगन्जमा विवाह स्थलमै सम्मान गरिएको छ।
वीरगन्ज–८ पानीट्याङ्कीस्थित डायमण्ड पार्टी प्यालेशमा शनिबार राति भइरहेको विवाहमा पार्टी प्यालेशमै पुगेर बालविवाह तथा दाइजो उन्मूलन अभियानिले नवविवाहित दुई दम्पतिलाई सम्मानित गरेको हो।

अभियानका तर्फबाट मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदी,अभियान पर्सा संयोजक प्रकाश थारुसहितकाले बेहुला औरेन्जब अहमद र बेहुली निकात खातुन तथा बेहुला जावेद अहमद र बेहुली साहिन आरालाई सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।

पर्साको धोबिनी गाउँपालिका–५ का औरेन्जेब अहमद र बाराको परवानीपुर गाउँपालिका–३ की निकात खातुन तथा औरेन्जेबका आफ्नै सहोदर भाइ जावेद र पर्साको कालिकामाई गाउँपालिका–१ की साहिन आराको शनिबार राती एउटै विवाहस्थलमा विवाह भएको थियो।

दुवै दम्पतिले दाइजोरहित विवाह गरी समाजमा सकरात्मक सन्देश दिएकाले दुवै दम्पतिलाई सम्मानित गरिएको अभियानका संयोजक थारुले बताए। बालविवाह एवम् दाइजो उन्मूलन अभियानले दाइजोविरुद्ध चलाइरहेको देशव्यापी अभियान अन्तर्गत दाइजोरहित विवाह गर्दै आएका नवविवाहित दम्पतिहरुलाई सम्मानित गरेर दाइजोरहित विवाह गर्नका लागि युवायुवती र तिनका अभिभावकलाई उत्प्रेरित गर्दै आएको अभियानमा सक्रिय गुड्डीकुमारी साहले बताइन्।