एमाले र माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने तयारीमा

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ ।
सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने तयारी गरेका छन् । समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्।
१०७ सदस्यीय प्रदेश सभामा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका  ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, २ र राप्रपाका एक एक सांसद रहेका छन् ।

 

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बिहानै संसदीय दल नेता भरत साहलाई सरकारबाट बाहिरिन तयार भएर बस्न निर्देशन दिएको माओबादीका एक नेताले बताए । माओवादीसँगै एमालेले पनि सरकार छोड्ने तयारीमा छ ।
मधेशमा ठूलो पार्टीको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको छ ।

मधेसमा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ । जसपा नेपाल नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेको अवस्थामा मात्र सरकार बनाउन सकिने अवस्था रहेको छ । त्यस्तै मधेशमा उपेन्द्र यादवबाट फुटेको नयाँ जसपामा कति जना सांसद छन् भन्ने स्पष्ट भएको छैन ।