आज्ञा खबर
महोत्तरी
महोत्तरीको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा प्रमुख, उपप्रमुख, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरू कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यसैगरी अधिकृत छैटौँ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरीएको अख्तियारले जनाएको छ ।
कामभन्दा पाँच लाख ८४ हजार ६ सय ३७ रुपियाँ बढी भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता नहरि घिमिरेले जानकारी दिए ।