आज्ञा खबर
पर्सा
वीरगञ्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट आईतवार राती एक करोड् भन्दा बढी रुपैया चोरी भएको छ।
सोमबार बिहान ९ बजे बैंकका सुरक्षा गार्डले बैकको ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाइएको थियो। त्यसपछि गार्डले बैंकका म्यानेजर र प्रहरीलाई घटनाबारे खबर गरेका थिए।
राति करिब ७ जनाको अज्ञात समूहले बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सिसिटिभी फुटेजमा चोरले बोरामा पैसा हालेर लगेको देखिएको छ।
’ग्यास वेल्डिङ गर्ने मेसिनले टिनको बाकस र दराज काटेर ती समूहले पैसा चोरेका छन्,’ उनले भने, ’बैंकको ताल्चा फुटाएरै चोरभित्र प्रवेश गरेको देखिन्छ।’ यस्तै, मुख्य स्पेसमा राखिएका पैसा भने केही नभएको उनले बताए।
‘टिनका बाकस र दराजमा राखिएका एक सय र बीस रुपैयाँका नोट चोरी भएको छ,’ उनले भने, ’सिसिटिभी फुटेजको आधारमा केही मानिसलाई नियन्त्रणमा लिएर हामी अनुसन्धान गर्दैछौं।’
बैंकको केन्द्रीय कार्यालयबाट खटिएका कर्मचारी र प्रहरीको रोहबरमा नयाँ ताल्चा खोलेर बैंकभित्र प्रवेश गर्दा पैसा चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए।