आज्ञा खबर
महोत्तरी
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं. ६ को जरलहवा बस्तीका अग्निपीडित परिवारहरूलाई बिहीबार बिहानै मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखी, राज्यमन्त्री शारदा थापा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा गृहसचिव वीरेन्द्र यादवसहितका टोलीहरू घटनास्थल पुगेर निरीक्षण भ्रमण गरेका छन ।
भ्रमणकोक्रममा बस्तीका अग्निपीडितको अवस्था भयावह रहेको भन्दै क्षतिको यकिन गरेर मधेश सरकारबाट आगलागी पीडितहरूलाई सहयोग गर्ने आश्वासन समेत उनिहरुले दिएका छन ।
यसैगरी मटिहानी आगलागी पीडितहरूलाई राहत वितरण सुरु भएको छ । बिहीबार बिहानै अग्निपीडित परिवारहरूलाई मटिहानी नगरपालिका वडा नं. ८ का सुनचाँदी व्यवसायी जयशंकर गुप्ताले आलु, पिठो तथा बस्ने गुन्द्रि वितरण गरेका छन । त्यसैगरी जलेश्वर नगरपालिका–२ निवासी मनुराज चौधरीले अग्निपीडित परिवारलाई एक–एक कार्टुन चाउचाउ वितरण गरेको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए।
यसैगरी वुधबार राति नै आगलागी पीडितहरूलाई खानेकुरा, पानी त्रिपाल तथा रेडक्रस सोसाइटीले बाल्टिन र जग तथा बिहीबार बिहानै बिस्कुट वितरण गरेको बताइएको छ । नगरपालिकाको स्रोतसाधनबाट धान्ने गरी आगलागी पीडितहरूलाई सहयोग भइरहेको नगरप्रमुख मण्डलले जनाए । उनले विपद्को यस घडीमा सहयोगको लागि सबैसँग अपिल समेत गरेका छन । जरलहवा बस्तीमा वुधबार लागेको आगलागीलाई नियन्त्रणमा लिन १० वटा वारुणयन्त्रलाई झण्डै सात घण्टाभन्दा बढी समय लागेको थियो । अहिले आगलागी पीडितहरूलाई राहत र पुनर्स्थापना कसरी गर्न सकिन्छ भन्नेमा समय दिनुपरेको भन्दै नगरप्रमुख मण्डलले आगलागी पीडितहरूलाई संयमता साथ बस्न आग्रह गरेका छन ।