मुक्त हरवाचरवाका सवाल सम्बोधन गराउन मधेश प्रदेश स्तरीय बजेट पैरवी अभियान

[sharethis-inline-buttons]

ममता बिश्वकर्मा
धनुषा
मधेशप्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति, कार्यक्रम र बजेटमा मधेशप्रदेशका ८ वटै जिल्लाहरुमा रहेका झण्डै १ लाख भन्दा माथिका मुक्त हरवाचरवा परिवारको सामाजिक र आर्थिक सवालहरु सम्बोधन गराउन बजेट पैरवी अभियान सम्पन्न भएको छ ।

सो कार्यक्रम अन्तरगत आजै मधेशप्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगमा डेलीगेशन मार्फत राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका प्रतिनिधीहरुले ध्यानार्कषण पत्र बुझाएका छन ।

उक्त ध्यानार्कषण पत्र मार्फत उनीहरुले मधेशप्रदेशको ८ वटै जिल्लाहरु (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) का ४२ वटा पालिकाहरुमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका स्थानिय स्तरका आफनै जनसंठगनहरु निर्माण भई कार्यक्रमहरु सञ्चालन भईरहको सन्दर्भमा आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति, कार्यक्रम र बजेट मार्फत मुक्त हरवाचरवाको तथ्याकं संकलन, प्रमाणिकरण र परिचयपत्र वितरण मार्फत न्यायिक पुनस्र्थापनाको कार्यक्रम अगाडी बढाउन अनुरोध गरिएको छ ।
साथै मधेशप्रदेश सरकार भूमि ब्यवस्था, कृषि र सहकारी मन्त्रालयको पहलमा मस्यौदा गरिएको मुक्त हरवाचरवाको तथ्याकं संकलन, प्रमाणिकरण र परिचयपत्र वितरण सम्बन्धी कार्यबिधीलाई अन्तीम रुप दिई मन्त्रीपरिषदबाट पारित गरि तत्काल हरवाचरवा लगत संकलन, प्रमाणिकरण र परिचयपत्र बितरणको थालनी गरिनुपर्ने, मुक्त हरवालाई जमिन, आवाश, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण, रोजगारी र सामाजिक सुरक्षा सहितको मुक्त हरवाचरवा पुनस्र्थापना प्याकेज निर्माण गरि सोको कार्यान्वयन गरिनुपर्ने र हरवाचरवालाई खेती र आवासका लागि जमिन उपलब्ध गराउन र बैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीबिहीन हरवाचरवालाई ३ महिना, ६ महीना र सोभन्दा लामो दीर्घकालीन सीपको तालिम, रु १ लाखको बीउ पुँजी र आवश्यक औजार प्रदान गरिनुपर्ने कुरामा जोड दिईएको छ ।

मञ्चले नेपालमा हरवाचरवाभन्दा गरिब र भूमिहीन अरु कोही नभएकोले सडक, बिजुली, शुद्ध खानेपानी, विद्यालय, स्वास्थ्य चौकी र सिँचाइ जस्ता न्युनतम भौतिक पूर्वाधारसहित एकीकृत प्याकेजसहितको बहुआयामिक गरिबी निवारण कार्यक्रम सर्बप्रथम हरवाचरवाको बस्तीमा लागू गर्नुपर्ने, नागरिकताबिहीन मुक्त हरवाचरवालाई नागरिकता उपलब्ध गराईनुपर्ने, नेपालको संविधानको धारा ५१ ञ (६) मा मुक्त हरवाचरवा, भूमिहिन, सुकुम्वासी पहिचान गरी बसोवासका लागि घरघडेरी तथा जिविकोपार्जनका लागि कृषियोग्य जमिनसहित पुनःस्थापना गर्ने र नेपालको संविधानको धारा १८, २४, ४० को मान्यता अनुसार अक्षरसः कार्यान्वयन गरिनुपर्ने, मुक्त हरवाचरवा बसोवास गर्दै आएको स्थानबाट पुनःस्थापना कार्यक्रम विना विस्थापित गर्ने कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन जारी गरिनुपर्ने, र गतबर्ष पारित भएको नीति, कार्यक्रम र बजेटमा भएको ब्यवस्था कार्यान्वयन गरिनुपर्ने कुरालाई जोडदार रुपमा माग गरेका छन ।

नेपाल सरकारले मिति २०७९ श्रावण २ गतेका दिन भूमि व्यवस्था मन्त्रालयको सिफारिशका आधारमा हरवाचरवाको ऋणको खारेजीसहित मुक्तिको घोषणा गरेसंगै नेपाल बँधुवा श्रमबाट मुक्त भएको थियो ।
त्यसैगरी मधेश प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाईमा हरवाचरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणलगायत प्रारम्भिक पुनःस्थापनाको कार्य अघि बढाउन नेतृवदायी भूमिका खेल्नु भएकोमा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा सिंगो मधेशप्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ । साथै,गर्दै मधेश प्रदेशको यही कार्यकालमा मुक्त हरवाचरवाको पुनःस्थापनाका सबै कामहरु सम्पन्न हुनेछन् भन्ने विश्वास समेत गरिएको छ ।

नेपालको संविधान, विद्यमान ऐन कानून तथा मुक्तिको घोषणा गर्दाका बखत गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गर्न गराउने उद्दश्यले “मुक्त हरवाचरवाको न्यायिक पुनःस्थापना हाम्रो सरोकार ! भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार !!” भन्ने मूल नाराका साथ मधेशप्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय गोविन्दबहादुर न्यौपानेज्यूको प्रमुख आथित्यमा मिति २०८१ बैशाख ०७ देखि ०८ गतेसम्म जनकपुरमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको ऐतिहासिक तेश्रो राष्ट्रिय सम्मेलनबाट दशनलाल मण्डलको नेतृत्वमा २५ सदस्यीय नयाँ नेतृत्वपनि चयन गरिएको ब्यहोरा सगौरव जानकारी गराउन चाहन्छौ । जसको उपाध्यक्ष, महासचिव, सचिवहरु र कोषाध्यक्षमा क्रमसः श्रीप्रसाद सदा (धनुषा), लागिन्द्र सदा (सप्तरी), मोहमद कासिम मिया(सिराह), बिगनेष पासवान (रौतहट) र राजवती मण्डल (सिराह) चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा शिव सदा, साबित्रीदेवी सदा, तेतरी माँझी, खुवलाल राम, दलि माँझी, धनमन्ती राम, उपेन्द्र दाश, गोलीयादेवी राम, उपेन्द्र राम, सोनीया माँझी, ठकनीदेवी महरा, अलि मोहमद नदाफ, श्यामसुन्दर सदा, गिता सदाय, सुमित्रा खङ्गर मधु सदा रहेका छन् ।