धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट

[sharethis-inline-buttons]

आज्ञा खबर
बरहथवा
घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा तीन पसल जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुई वटा पसल जलेको छ । मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पनि पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

साहकै निर्माणाधीन घरमा बालेको धूपबाट सल्किएको आगोले उहाँकै औषधि पसल र जुत्ता–चप्पल पसलमा आगो लागेको स्थानीयको भनाइ छ । आगोले निर्माणाधीन घरमा क्षति पुगेको छ । साहको निर्माणाधीन पक्की घरको दोस्रो तलाको छत ढलानको तयारीका लागि पूजा गरिएको थियो । पूजामा धूप बालेर ढलान गर्ने कामदारहरु खाना गएको बेला आगो सल्किएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो निभाइएको थियो । समयमै आगो निभाउन सकिएकाले थप क्षति हुन नपाएको स्थानीयको भनाइ छ । रासस