आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान अनुसार कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टीका(लोसपा) वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई हटाएर मुख्यमन्त्री यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालयको कामको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा सञ्जयकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याणमन्त्रीमा सुरीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा राजकुमार लेखी, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा सिंगासन सा कलवार, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शत्रुधन सिंह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा सुनिता यादव, ऊर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा शेखअबुलकलाम आजाद, उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा रहबर अन्सारी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय सहित १३ सदस्यीय मन्त्री परीषद गठन गरीएको बताईएको छ ।
लोसपाले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने सार्वजनिक गरेपछि सो पार्टीबाट मन्त्री बनेका कुर्मीलाई मात्र हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।





































