आज्ञा खबर
महोत्तरी
मिथिलाञ्चलमा श्रद्धा र निष्ठाको रुपमा मानिने महापर्व चैते छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
प्रत्येक वर्ष चैत र कात्तिकको शुक्ल षष्ठी तिथिका दिन जलाशयको किनारमा सूर्य र षष्ठी देवीलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाउने गरिन्छ । चार दिनसम्म मनाईने चैते छठ पर्वको आज तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न मिष्ठान परिकारको अघ्र्य दिएर चैते छठ मनाइएको छ ।
यो पर्वको पहिलो दिन व्रतीले नहाय खाय विधि दोस्रो दिन खरना विधि गरिएको थियो । खरनाका दिन व्रतीले दिनभर उपवास गरेर कुल देवताको पूजा गरी बेलुका प्रसादग्रहण गरेका थिए । जनकपुरको ऐतिहासिक गंगासागर, धनुष सागर र अरगजा पोखरी तथा महोत्तरी र मधेशको बिभिन्न जलाशयलाई दुलहीझैं सिँगारेर छठ मनाइँदैछ ।
छठ पर्व मान्नाले दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निकोे हुने र पारिवारिक सुख शान्ति हुने जन विश्वास रहिआएको छ ।