आज्ञा खबर
बर्दिवास
नयाँ वर्षको शुभआरम्भसंगै महोत्तरीलगायत मधेश क्षेत्रमा आज जुरशितल मनाइँदैछ ।
आजको दिन एकाबिहानै घरका जेष्ठ मान्यजन सदस्यले परिवारका आफूभन्दा साना सदस्यलाई शिरमा जल सिंचित गर्दै आर्शीवाद दिने चलन छ । मान्यजनको आशीर्वादले वर्षभरि नै शितलता, सुख, समृद्धि, शान्ति एवं दीर्घायु तथा उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास छ ।
आजका दिन रुख बिरुवामा पनि जल सिंचित गरिनुका साथै खेतबारीमा समेत मलजल गरिन्छ । सूर्यको तापबाट मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहेको छ ।
जुर शितलमा जल सिंचित गर्दा आफूभन्दा सानाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्न सक्ने जनविश्वास छ । यो पर्वको अवसरमा मिथिलाञ्चल लगायत तराईका विभिन्न स्थानमा हिलोपानीमा कुस्ती खेल्ने चलन पनी रहिआएको छ ।
आजको दिनमा अघिल्लो दिन नै पकाएको बासी भात चुह्लो देवतालाई चढाएर घरघरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुटेको र तारेको परिकारलगायत मिष्ठान्न परिकार पकाएर खाने चलन पनि रहेको छ । जुरशिताल पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।





































