आज्ञा खबर
सिरहा,
सिराहाको लहान नगरपालिकाले आठ करोड ५८ लाख लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ । आज एक समारोहबिच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गरेका छन् ।
लहान बजार सुन्दर बनाउने नगरको योजना बमोजिम ड्रेन निर्माण गर्न चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिए। “खुल्ला नहरले बजारक्षेत्र कुरूप बनाएको थियो । नहर व्यवस्थित नहुँदा बालबालिका र वृद्धवृद्धालाई आवतजावतमा जोखिम थियो, वर्षायाममा नजिकका घर जलमग्न हुने गरेका थिए ।
ड्रेन निर्माणपछि नहरको दायाँबायाँ सडक र किनारमा बगैँचासमेत निर्माण हुने भएकाले सुन्दर लहान बनाउने परिकल्पना अब साकार हुने चौधरीको भनाई छ ।
लहान बजारको उत्तरतर्फ वडा नम्बर १०, ६, ७, ८ को ग्रामीण चोक हुँदै मारवाडी टोल, घण्टाघर, हुलाक चोक हुँदै दक्षिणतर्फ बहने दुई किलोमिटर लम्बाइको नहरमा ड्रेन बन्ने वडा नम्बर ७ का अध्यक्ष राम अवतार शर्माले बताए । ड्रेन निर्माणको ठेक्का सुलभ गुम्दा, पिपी जेभी कम्पनीले लिएको छ । व्यवस्थित पक्की ड्रेन निर्माणले दुर्घटनाको जोखिम न्यूनीकरणका साथै लामखुट्टे आतङ्क नियन्त्रणमा सहयोग पुग्नेगरी योजना एक वर्षभित्र पूरा हुने नगरपालिकाले जनाएको छ । रासस