आज्ञा खबर
सर्लाही
सर्लाहीको बसबरियामा सोमबार बिहान आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।
बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी भएको हो।
आगलागीबाट ११ परिवारको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
‘आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम हुँदैछ,’ उनले नेपालखबरसँग भने, ‘झण्डै दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएका छौँ।’
आगलागीबाट ६ घर पूर्ण र ५ घर आंशिक जलेको उनले बताए। आगलागीबाट लाखौँको क्षति भएको अनुमान छ।
आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलंगवा नगरपालिकाका दुईवटा वारुण यन्त्र परिचालन गरिएको थियो।
२० वटा स्थानीय तह रहेको सर्लाहीका जम्मा दुई स्थानीय तहसँग मात्रै वारुणयन्त्र छ। सदरमुकाम समेत रहेको मलंगवा र हरिवन नगरपालिका बाहेक सर्लाहीका १८ स्थानीय तहसँग वारुण यन्त्र छैन।