वीरगन्जमा तीन दिन ‘रात्रि बजार लगाईने

[sharethis-inline-buttons]

आज्ञा खबर
बीरगंज
वीरगन्जमा गएको वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई यस वर्ष पनि निरन्तरता दिन नयाँ वर्षको अवसर पारेर पुन रात्रि बजार लगाईने भएको छ ।
नयाँ वर्ष र ईदको अवसर पारेर वीरगन्ज महानगरपालिकाले यही चैत २९ गते बेलुकादेखि २०८१ वैशाख १ गते मध्यरातिसम्म तीन दिन वीरगन्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्मको क्षेत्रमा ‘रात्रि बजार’ लगाउने तयारीे गरेको हो।
वीरगन्जको सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन
भारतीय पर्यटकहरूलाई लक्षित गरी भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज नाका रातभर खुला रहने गरी बजार लगाईने महानगरका मेयर राजेशमान सिंहले बताए।
सामान्यतया वीरगन्ज नाका राति १० बजेपछि बिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ।
तर रात्रि बजार लाग्ने समयावधिभर आवतजावत गर्न सहज होस् भनेर रातभर खुला गर्न उनले बताए। ‘रात्रि बजार लाग्ने तीन दिन सम्म नाका २४ सै घण्टा खुला राख्नका लागि नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति गरिसकेका छौँ,’ मेयर सिंहले भने ,‘रात्रि बजार अवधिभर आउजाउमा कुनै समस्या आउने छैन।’
‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामानका स्टलहरू राख्ने मेयर सिंहले जानकारी दिए।
आदर्शनगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एक सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र स्टल बुकिङको काम समेत अघि बढाइएको ग्रीन सिटी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए।