प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज खोप अभाव

[sharethis-inline-buttons]

आज्ञा खबर
बरहथवा
सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेबिज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ । महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन् ।

मागअनुसार खोप नआएका कारण सधैँ अभाव हुने गरेको लामबन्दीस्थित नगर अस्पतालका डा.राम विश्वास रायले बताएका छन्। कुकुरले टोक्दा लगाउने एन्टिरेविज विरुद्धको खोप प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र मधेस प्रदेश जनकपुरले वितरण गर्ने गरेको छ । जिल्लामा साबिक पाँच वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये चार वटा बलरा, लालबन्दी, बरहथवा र हरिपुरबाट सेवा प्रवाह हुँदै आएको छ ।

यसमा थप सासापुर स्वास्थ्य चौकी हरिवन र प्रादेशिक अस्पताल मलङ्गवाबाट पनि सेवा प्रदान हुने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिए।
सेवा सञ्चालन भइरहेका जिल्लाका उत्तरी क्षेत्रका लालबन्दी, हरिपुर प्राथमिक स्वास्थ्य केन्द्र र सासापुर स्वास्थ्य चौकीमा हरेक महिना औषधि अभाव हुने गरेको छ । सासापुर स्वास्थ्य चौकी हरिवनमा मासिक २५ देखि ४० भाइल मात्र खोप आउने गरेको छ।

तर, माग सय भाइल रहेको स्वास्थ्य संयोजक रामबाबु चौधरीले जानकारी दिए।

‘‘कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेका बिरामी धेरै आउँने गरेको स्वास्थ्य चौकीमा औषधि मुस्किलले हप्तादेखि दुई हप्तालाई मात्र पुग्ने गरेकोले प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रमा माग पत्र बुझाएपनी रेबिज भ्याक्सिन उपलब्द हुन सकेको छैन।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र हरिपुरमा पनि खोप सकिएको चिकित्सकहरूले बताएका छन् । यस महिनाको लागि आएको ४० भाइल खोप गत १५ गतेअघि नै सकिएको लालबन्दी नगर अस्पतालका डा रायले जानकारी दिए । रेबिज विरुद्धको खोप लगाउन आउनेलाई अन्यत्र पठाउने गरिएको उनको भनाइ थियो ।
रेबिजविरुद्धको खोप सरकारले निःशुल्करुपमा प्रदान गर्ने गर्दछ । तर, पनि स्थानीय स्वास्थ्य संस्थाले व्यवस्थापन खर्चका लागि भनेर एक मात्राको सय रुपैयाँसम्म लिने गरेका छन् । त्यो पनि नपाउँदा स्थानीय चर्को मूल्यमा निजी क्लिनिकबाट किनेर प्रयोग गर्न बाध्य छन् ।

रेबिज विरुद्धको खोप बजारमा प्रति भाइल दुई हजार पाँचदेखि तीन हजारसम्म पर्ने गरेको छ । यसरी सरकारले अनुदानमा निःशुल्क दिने भनेको रेबिज विरुद्धको खोपसमेत अभावमा बजारमा गएर किनेर लगाउनुपर्दा विपन्न नागरिकलाई मर्का परेको हरिवन नगरपालिकाकी रिता सापकोटाको भनाई छ।

यता प्रादेशिक अस्पताल मलङ्गवामा प्रत्येक महिना तीन सय भाइल हाराहारीमा खोप आउने गरेको छ । अस्पतालका मेसु डा नवलकिसोर झाले औषधि पर्याप्त रहेको बताए।
उनले प्रदेशबाट कुनै रोकतोक विना खोप दिने गरेकोले प्रयोग विवरण स्पष्ट बुझाउनुपर्ने उनको दाबी छ । कुकरले टोके एक व्यक्तिले यो खोप २८ दिनभित्रमा तीनदेखि पाँच पटकसम्म लगाउनुपर्छ । रासस