आज्ञा खबर
सिरहा
सिरहाको गोलबजार नगरपालिकामा रहेको जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी एका छात्राको मोबाइलमा एसईईको प्रश्नपत्र र उत्तर भेटिएपछि छात्रालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।
उनको साथमा रहेको मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको दाहालले बताए ।
शुक्रबार नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको खबर छ । सो बारे अनुसन्धान भइरहेको बताउँदै प्रजिअ दाहालले प्रश्नपत्र बाहिरिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डमा जानकारी गराएको र माथिबाट आउने निर्देशनको आधारमा निर्णय लिइने उल्लेख गरे ।
सिराहाका विभिन्न परीक्षा केन्द्रमा चिट बनाउन टोली नै सक्रिय रहेको बुझाई प्रहरीको छ । यसमा केन्द्राध्यक्ष र गार्डहरु पनि संलग्न रहे नरहेको बारे अनुसन्धान भइरहेको प्रजिअ दाहालले बताएका छन ।