आज्ञा खबर
बर्दिवास
यसपटक पानी नपरी पूरै हिउँद बित्दा असहज भएको महोत्तरीको सुदुर उतरी क्षेत्रको जनजीवनलाई आज बिहान देखी भएको बर्षाले राहत मिलेको छ ।
महोत्तरीको बर्दिवास सहितका धेरैजसो ठाउँमा आज बिहानैदेखी सामान्य बदलीबीच भएको वर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् ।
रुखिएको जग्गामा चिस्यान हुनेगरी त पानी परेन, तर चिसो बताससँगै एकछिन परेको पानीले बढदैगएको गर्मीबाट राहत मिलेको बर्दिवास नगरपालिका १३ का वकिल ठाकुरको भनाई रहेको छ । उनका अनुसार रुख बिरुवाका पातमात्रै भिजाए पनि अहिलेको वर्षा अमृतसरह बनेको छ ।” यसपालि पूरै हिउँद पानी नपरी बितेका बेला लाग्दो चैतमै आज बिहान हावाहुरी पछी पानी परेको हो ।
आजको वर्षाले वैशाखी तरकारीका बेला (लहरा) पात भिजाएको, फलफूलका बोट (आँप, लिची) का मज्जर (मञ्जरी, फूल) र पातमा लागेका किरा, धब्बा पखालेको किसानले बताएका छन् । “मुख्य त आँपमा मधुवा (मज्जरमा लाग्ने एक प्रकारको रोग) लाग्ने डर रहेकाबेला पानीले हाँगा, पात, मज्जरका धब्बा, माकुराको जालो पखाली दिएको छ”, बर्दिवास १३ बिजलपुराका किसान हेमललाल लामाले भने, “यसले मधुवाको प्रकोप हुन दिँदैन भन्ने आश छ ।”
जग्गामा चिस्यान हुनेगरी वर्षाको आशमा रहेका बर्दिवासका किसानले सुक्खा भएको जग्गा खनजोत गर्न भने अझै पर्खनुपर्ने भएको छ । चिस्यान हुनेगरी पानी पर्नासाथ महोत्तरीको उत्तरीक्षेत्रका किसान बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने समयको पर्खाइमा छन् ।