निकिता खनाल
बर्दिवास
शैक्षिक सुधारका लागि ‘व्यवहारिक शिक्षा विकासको लहर’,ज्ञानको ज्योतिले जगमग बर्दिवास नगर बनाउने उदेश्यले महोत्तरीको बर्दिवास नगरपालिकाले साधारण तथा प्रबिधिक बिद्यालयमा अध्यनरत जेहन्दार, बिपन्न, महिला, आदिवासी जनजाती, मुस्लिम, मधेशी, दलित, अपाङ्ग,शहिद, बेपत्ता परिवारका बिद्यार्थीलाई प्राबिधिक तथा ब्यवसायिक उच्च शिक्षा अध्ययनका लागि सहज बनाउन मेयर छात्रबृति बितरण गर्ने भएको छ ।
बर्दिवास नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको गत माघ १० गते बसेको बैठकको निर्णय अनुसार नगरभित्रका बिद्यार्थीलाई आर्थिक रुपमा सहज बनाउँदै शिक्षमा आम नागरिकको पहुँच बढाउन मेयर छात्रबृति तथा ब्यवस्थापन कार्यक्रम ल्याईएको बर्दिवास नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
छात्रबृतिकालागी ईच्छुक बिद्यार्थीले मेयर छात्रबृति ब्यवस्थापन तथा बितरण कार्यबिधि २०८० को अनुसुची १ अनुसार फारम भरेर यहि चैत २५ गते सम्म बर्दिवास नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा निबेदन दिन बिद्यार्थीहरुलाई सुचित गरेको सो शाखाका प्रमुख रेवती पराजुलीले जानकारी दिए ।
हाल शिक्षालाई व्यवहारिक र व्यावसायिक बनाउनकालागि नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिने नीति अवलम्बन गर्दै सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाई गर्न प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रमलाई प्रभावकारीताका साथ कार्यान्वयनमा ल्याइने नीति बनेको बताईएको छ ।
यस्तै विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउनकालागि समेत शाखाले बिभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ ।