आज्ञा खबर
महोत्तरी
महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनमाथि कारबाही गरी ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र गराइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारी अनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार चार सय ९२ को मिलापत्र गराइएको हो ।
उनका अनुसार जिल्लामा कुल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९ निवेदनउपर छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो । ऋणीबाट साहुद्वारा लिइएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउन सफल भएको प्रहरी नायब उपरीक्षक गिरीलेजानकारी दिए ।
अहिले जिल्ला प्रहरी कार्यालयमा मिटरब्याजीसम्बन्धी निवेदनमाथि दैनिक निरन्तर छलफल, सुनुवाइ र कारबाही प्रक्रिया तीव्र गतिले अगाडि बढाएको छ । निवेदनमा मिलापत्र गर्ने,गराउनकोे सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । पछिल्लो एक महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय एक सय ८६ निवेदनमाथि छलफल गराउँदा एक सय ५५ निवेदनमा मिलापत्र गराउन सफल भएको हो । ती निवेदनबाट चार करोड ९० लाख एघार हजार तीन सय ३४ को मिलापत्र र सात बिघा १३ धुर जमिन फिर्ता गराइएको छ । रासस