स्यानिटरी प्याड खरिदमा नगर प्रमुखसहित नौजना विरुद्ध मुद्दा

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार यादवसहित नौ जनाविरुद्ध झण्डै भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
प्याड खरिदमा झुटा विवरण तयार पारेको खुलेपछि नगर प्रमुखसहित नौ जनाविरुद्ध १३ लाख ९३ हजार ६८७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो।

आर्थिक वर्ष २०७७÷७८ मा स्यानिटरी प्याड खरिदमा झुट्टा विवरण एवम् सूचना तयार गरी गलत कागजातको आधारमा यादवसहित नौ जनाविरुद्ध बदनियतपूर्ण ढङ्गले खरिद सम्झौता एवम् १३ लाख ९३ हजार ६८७ रुपियाँ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप लागेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
तत्कालीन नगर उपप्रमुख शिला देवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघन यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदिपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, श्री माध्यमिक विद्यालय हठ्ठीपुरवाहा, धनुषाका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, तत्कालीन सब–इन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ्ग प्रालिका प्रोप्राइटर एवम् राष्ट्रिय दैनिक रेजा टुँडे पत्रिकाका प्रकाशक अकबर मंसुरविरुद्ध १३ लाख ९३ हजार ६८७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

स्यानिटरी प्याड खरिदका लागि २०७७ फागुन १९ मा रेजा ट्रेडिङ्ग प्रालिसँग सम्झौता भएकोमा उक्त खरिद सम्झौता गर्नु अघि नै २०७७ फागुन १३ मा भुक्तानी गरेको, सिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक सङ्ख्या नखुलेको तर सम्झौता अगावै र कहीँ कतै सङ्ख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ्ग प्रालिले आपूर्ति गरेको देखिएको आयोगले जनाएको छ।