आज्ञा खबर
सर्लाही
सर्लाहीमा शुक्रबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ ।
जिल्लाको रामनगर गाउँपालिका –३, झण्डाटोलमा आगलागी हुँदा स्थानीय रामईश्वर दासको घर जलेको हो ।
खरले छाएको घरमा लामखुट्टे धपाउन बालिएको आगो सल्किएर उनका र छिमेकी रामदेव झाको घर जलेर नष्ट भएको छ । आगलागीबाट दासको घरसहित घरभित्र रहेका केही नगद, कपडा, खाद्यान्नलगायत सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घरभित्रै रहेका चारवटा बाख्रा, दुईवटा कुखुरा र केही हाँस जलेर मरेका छन् । आगलागीले दासको तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, रामईश्वरकै घरबाट सल्किएको आगोले छिमेकी रामदेव झाको घर तथा घरभित्रका सामग्री जल्दा दुई लाख रुपियाँ बराबरको क्षति भएको छ । आगलागीपछि दुवै विपन्न परिवार बिचल्लीमा छन् ।
आगलागी गाउँले र प्रहरीचौकी खैर्बा बहुअर्वाबाट खटिएको प्रहरी टोली मिलेर दुई घण्टापछि नियन्त्रणमा लिएको सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।