आज्ञा खबर
रौतहट
रौतहटको निजी अस्पतालबाट तीनजना नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्लाको यमुनामाई गाउपालिका १ सुकदेव चौकस्थित सगरमाथा तराई हस्पिटलमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत बिहारको पूर्वी चम्पारणस्थित ढाकास्थित खैरवा का ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंजका वटोआका २७ को मो. तबरेज आलम र यमुनामाई गाउँपालिका वडा– २ स्थित भेडियाहीटोलका २७ वर्षीय कलाम मन्सुरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरूलाई राखी बिरामीहरूको एपेन्डिस, पायल्स, युटेरस्लगायतका अपरेसन हुँदै आएको सूचनाको आधारमा ती आरोपित नक्कली डाक्टर पक्राउ परेको रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताए ।
उनीहरूलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । उनीहरूसँग बिरामीहरूको उपचार गर्न पाउने इजाजत पत्र माग गर्दा निजहरूसँग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण पत्र नभएको कारण आरोपितहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको उनले बताए ।
