आज्ञा खबर
धनुषा
धनुषाको मिथिला नगरपालिकाले ढल्केबरमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी चौबिसै घण्टा आकस्मिक स्वास्थ्य उपचार सेवा दिने गरी सञ्चालनमा ल्याउने भएको छ ।
सो स्वाथ्य चौकीलाई फागुन २० गतेभित्र आकस्मिक उपचार सेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले जानकारी दिए ।
सडक दुर्घटनाका घाइते तथा नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सो आकस्मिक उपचार सेवा विस्तार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
आकस्मिक उपचार सेवा विस्तारका लागि चाहिने ल्याब, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्थापन भइसकेको छ । केही प्राविधिक तयारी नपुगेको देखिएकाले त्यसको समाधान गरेर यो महिनाको अन्तिम सातासम्म सञ्चालनमा आउने स्वास्य चौकी श्रोतले जनाएको छ
आकस्मिक सेवामा दुई जना एमबिबिएस, चार जना एचए, चार जना अनमी, दुई जना स्टाफ नर्स, दुई जना स्विपर र दुई जना फार्मेसी जनशक्तिले सेवा दिने छन् । अस्पताल हाताभित्र नगरपालिकाको आफ्नै फार्मेसी पसलसमेत हुने छ जसमा अस्पतालले निःशुल्क उपलब्ध गराउने औषधीबाहेकको औषधी खरिदमा सेवाग्राहीलाई १० प्रतिशत छुटको व्यवस्था गरिने बताईएको छ ।