आज्ञा खबर
रौतहट
सरस्वती पुजाको मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले इशनाथ नगरपालिकाको थप वडामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आइतबार थप वडामा कर्फ्यु आदेश जारी गरेका हुन्।
रेग्मीले शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी नगरपालिकाको वडा नम्बर ६ र ७मा कर्फ्यु आदेश जारी गरेका थिए।
नगरको वडाहरू २, ३, ४ र ५मा पनि कर्फ्यु लगाइएको छ।
शनिबार इशनाथ–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति बिसर्जन गर्ने बेलामा दुई समूहबीच ढुंगामुढा र लाठी हानाहान भएको थियो। दोहोरो झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
पूर्वमा बन्जरहा मोड, पश्चिममा सानो घिउरा गाउँ, उत्तरमा रामपुरखाप एपिएफ बिओपी देखि दक्षिण जिमल अख्तरको बोरिङ सम्म र दक्षिणमा एपिएफ बिओपी औरियादेखि नयनगरसम्म कर्फ्यु आदेश जारी भएको हो।
कर्फ्यु जारी भएको क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुक प्रदशर्न गर्न, घेराउ ¥याली गर्न, एवं अरू कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने आदेशमा उल्लेख छ।
प्रशासनले आदेशको बर्खिलाफ भए कडा कारबाही गर्ने जिल्ला प्रसाशन कार्यालय रौतहटले निकालेको सुचनामा उल्लेख छ।