लालबन्दीमा प्रथम महोत्सव हुँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दीमा प्रथम लालबन्दी महोत्सव आयोजना हुने भएको छ ।
उद्योग बाणिज्य संघ लालबन्दीको आयोजनमा फागुन १० गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गर्ने उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ ।
मेलामा “कृषि, पर्यटन, व्यापार स्वरोजगार र आत्मनिर्भरताको आधार भन्ने मूल नारासहित आयोजना गर्न लागिएको आयोजक उद्योग वाणिज्य सङ्घले मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण फुटबल मैदानमा सो महोत्सव लाग्ने बताइएको छ ।
अहिलेको कठिन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले जनकारी दिए ।
यो महोत्सवले लालबन्दी नगरको पहिचान बढाउन टेवा पुग्ने बिश्वास लिईएको छ ।
व्यापार, कृषि, उद्योग र पर्यटन प्रवर्धनको मुख्य लक्ष्य लिएको यो मेलाले लालबन्दी नगरलाई चिनाउन पनि मद्दत पुग्छ भन्ने विश्वास लिईएको छ ।

महोत्सव आयोजना गर्न ७१ लाख रुपियाँ खर्च लाग्ने आयोजकको अनुमान छ । १० दिनसम्म चल्ने महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ । महोत्सव आयोजना गर्न लालबन्दी नगरपालिकाले पाँच लाख रुपियाँ ,टिकट बिक्रीबाट २० लाख रुपियाँ, स्टल भाडाबाट नौ लाख रुपियाँ लगायत अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने आश गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
महोत्सवमा ब्यवसाय गर्न चाहने स्तानिय व्यापारीलाई प्रती स्टल सात हजार रुपियाँ र बाहिरका व्यवसायीलाई १२ हजार रुपियाँ स्टल शुल्क निर्धारण गरिएको छ ।

महोत्सवमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न निःशुल्क स्टल उपलब्ध गराउने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याणकुमारी जोशीले बताए ।