आज्ञा खबर
रौतहट
रौतहट बम काण्डमा घईते भएकालाइ इँटाभट्टामा लगेर जलाएको अभियोग लागेका अफताब आलमको मुद्दामा सरकारी पक्षका साक्षीलाई झिकाएर बकपत्र गराउन रौतहट जिल्ला अदालतले आदेश दिएको छ।
आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले सरकारी पक्षका साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश गरेको अदालतका स्रेस्तेदार उद्धव ढोडरीले जानकारी दिए।
इजलासले जाहेरवाला गौरीशंकर रामको शारिरिक परीक्षण प्रतिवेदन झिकाउन पनि आदेश दिएको अदालतले जनाएको छ ।
‘इजलासले दुई वटा आदेश पछि अर्को पेशी तोक्ने स्रेस्तेदार ढोडरीले बताए ।
रौतहट साविक राजपुर फरदहवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन्।
रौतहट बमकाण्ड पछी घाईतेलाई जिउदै ईटा भटामा जलाएर मारेको आरोपमा आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दा लगाइएको छ। उनीहरूलाई विभिन्न तीन कसूरमा ३२ वर्ष सजायको माग गरिएको छ।
विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरिएको छ।
अभियुक्तमध्ये मुक्ति साहलाई देखिदेखि, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ।
अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाई मारेको उल्लेख छ।
रौतहट बमकाण्डको कसूरमा आलमसहित मोहताब आलम, शेख भदई, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन् भन्ने शेख मलकार, गौरीशंकर साह र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ।
पीडक प्रतिवादीमध्ये कांग्रेस सांसद अफताब सबैभन्दा पहिले पक्राउ परेका थिए। प्रहरीले यस घटना भएको १२ वर्षपछि २०७६ असोज २६ गते रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।