नारायण घिमिरे
बर्दिवास
प्रगतिशील लेखक संघ मधेस प्रदेशको अध्यक्षमा नारायण घिमिरे चयन भएका छन् । शनिबार बर्दिवासमा सम्पन्न संघको दोश्रो प्रदेश सम्मेलनबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । प्रगतिशील लेखक संघ नेपालका महासचिव डा. देवी दुलालको प्रमुख आतिथ्यता र मधेस प्रदेश सभा सदस्य माननीय शारदादेवी थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक संघ नेपालका उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज वालमुकुन्द कार्कीले गरेका थिए ।
सम्मेलनले १७ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा धनुषाबाट किरण झा, रुद्रसेन विश्वकर्मा,सचीव भिम कुमार राउत,सहसचिव मिना देवकोटा,कोषाध्यक्ष फुलगेन मगही, सदस्यहरुमा भैरव प्रसाद गेलाल,चन्द्रमणी पौडेल,मुरली प्रसाद यादब, मुकुन्द पौडेल,विजय रिजाल,जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन समितिका संयोजक संघका उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज बालमुकुन्द कार्कीले जानकारी दिए ।
मधेसका ८ वटै जिल्लाबाट दुई दुई जना रहनेगरी समिति गठन भएको कार्कीले बताए । नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेसमा प्रगतिशील लेखक संघको भुमिका अब सशक्त हुने बताएका छन् । सामाजिक अन्यायका विरुद्ध प्रगतिशील लेखकका कलम चल्ल जरुरी रहेकाले अब मधेसमा रहेका बेथिति विरुद्ध कलम चलाउने र काम गर्ने घिमिरेले बताए । सम्मेलनमा नेपालमा बामपंथी एकता नभएको प्रती बक्ताहरुले चिन्ता ब्यक्त गरेका छन ।
प्रगतिशील साहित्य विचार प्रधान हुने भएकाले विचार विनाको साहित्य प्रगतिशील हुन नसक्ने संघका केन्द्रिय महासचिव डाक्टर देवी दुलालले बताए । विचार र कला मार्फत समाजमा सकारात्मक रुपान्तरण ल्याउन सक्नु प्रगतिशील लेखन र साहित्यको मुल मर्म भएको दुलालले बताए । नवनिर्वाचित समितिलाई बदिवास उद्योग वाणिज्य संघका महासचिव उत्तम श्रेष्ठ, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्य जीवन स्पर्शी, बोधराज घिमिरे, माधव पोखरेल, प्रेम घिमिरे, नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको कार्यवाहक अध्यक्ष सुनिता बराल, मिथिला नगरपालिकाकी उपमेयर सुनिता बुढाथोकी लगाएतले शुभकामना दिएका थिए ।
सम्मेलनमा मधेस प्रदेश,वागमती प्रदेश र कोशी प्रदेशबाट प्रगतिशील लेखक तथा साहित्यकारहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।