नक्कली नोटसहित बाराबाट ५ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
बारा प्रहरीले नक्कली नोटको कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई
सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी बिहिवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेका छन्।
जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा तत्कालै प्रहरीको टोली परिचालन गरी एकजनालाई नक्कली नोटसहित पक्राउ गरेपछि उनको वयानको आधारमा विभिन्न ठाउँबाट गरी चार जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिबाट ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिमकार्डसहित सात थान मोबाइलसमेत बरामद गरिएको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।