महोत्तरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न पहल

[sharethis-inline-buttons]

नागेन्द्रकुमार कर्ण

महोत्तरी

महोत्तरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको लागि पहल सुरु गरिएको छ । जिल्लामा रहेको १५ स्थानीय तहहरूमध्ये बलवा नगरपालिका र सम्सी गाउँपालिका मात्रै पूर्ण खोप पालिका घोषणा हुन बाँकी छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा वुधबार पूर्ण खोप तथा दिगोपना सम्बन्धमा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले महोत्तरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न दुई पालिकामा मात्रै समस्या देखिएकोले सरोकारवालाहरूलाई पहल गरिदिन आग्रह गर्नुभयो ।

जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने कार्यक्रम रहेकोमा जोड दिनुहुँदै दुई वटा पालिकामा देखिएको आन्तरिक समस्याले समस्या देखिएको बताउनुभयो । सम्सी गाउँपालिकामा पटक-पटक अध्यक्ष, प्रशासकीय अधिकृत तथा वडाध्यक्षहरूको विवादको कारणले कामकाजहरू ठप्प रहँदै आएको छ भने बलवा नगरपालिकामा पनि समस्या देखिएको जनाइएको छ ।

दिगो विकास लक्ष्य अनुसार बालबालिका र महिलाको मृत्युदरमा कमी ल्याउन पूर्ण खोपको सुनिश्चितता गरिने बताउनुहुँदै पूर्ण खोपको दिगोपनाको लागि स्थानीय सरोकारवालाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण भएकोले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुमन लाल कर्णले जसको जिम्मेवारी हो उसले जनतासँग न्याय गर्नेगरि कामकाज गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लालाई पूर्ण खोप सुनिश्चितताको लागि सबैसँग हातेमालो गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले घोषणा मात्रै ठुलो कुरा नभएको भन्दै यसको निरन्तरता प्रमुख चुनौतीको रूपमा रहेको बताउनुहुँदै घोषणामा सीमित नराखी आगामी दिनमा दिगोपना कसरी गर्न सकिन्छ भन्नेमा पनि बहस, विमर्श र काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजीव कुमार झाले खोपको सेसन नियमित सञ्चालन नहुनु, चाडपर्वको कारण खोप सेसन नचल्नु तथा बालबालिका खोप लिन नआउनु, खोपको पूरा मात्रा लिने बारे अभिभावकहरूमा जानकारीको कमी लगायतका कारणले केही कठिनाइ देखिएको बताउनुभयो । यस्तै, उहाँले खोप पहिलो आधारभूत र अत्यावश्यक सेवा भएकोले खोज र खोपमा सबैलाई ध्यान पुर्‍याउन आग्रह गर्नुभयो ।

स्वास्थ्यको सुचाङ्क लगायत अन्य विभिन्न विषयमा मधेश प्रदेश पछाडि रहेको बत्ताउनुहुँदै डा.झाले बालबालिकाहरूको लागि अर्को जटिल समस्याको रूपमा रहेको कुपोषणबाट समेत बालबालिकालाई सुरक्षित राख्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले सम्सी गाउँपालिकालाई छिट्टै पूर्ण खोप पालिका घोषणाको लागि आफू तयार रहेको र सबै सरोकारवाला निकायहरूलाई यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जनस्वास्थ्य प्रयोगशालाको प्रमुख श्रवण मिश्र लगायतकाहरुले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

साभार गोरखापत्र अनलाइन