आज्ञा खबर
धनुषा
सिराहा र धनुषा जोड्ने कमला नदीमा झोलुंगे पुल शनिबारदेखि आवतजावतका लागि खुला गरिए पछी यस भेगका स्थानियलाई सहज भएको छ ।
कमला नदीसँगै जोडिएको सिराहा नगरपालिका– १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने झोलुंगे पुल निर्माण भएपछि खुला गरिएको पुल निर्माणमा संलग्न सहायक सुपर भाइजर इन्जिनियर अनिल मण्डलले जानकारी दिए।
नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लामो र एक दशमलव दुई मिटर चौडाइ रहेको उक्त झोलुंगे पुलको अन्तिम प्राविधिक जाँचपछि सर्वसाधारणका लागि खुला गरिएको हो।
पुल नहुँदा वर्षौँदेखि सास्ती झेल्दै आएका कमला तटीय क्षेत्रमा पर्ने सिराहा र धनुषाका सर्वसाधारणको आवतजावत सहजताका लागि खुला गरिएको बताईएको छ ।
संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले ठेक्का सम्झौता गरी १ असोज ०७९ देखि थालेको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सम्पन्न भएको हो ।
उक्त पुल निर्माणको ठेक्का सम्झौता ०८१ असार मसान्तसम्म रहेको जनाइएको छ। पुल खुला गरिएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिराहाका विभिन्न ठाउँमा आवतजावत गर्न सहज भएको स्थानियको भनाई रहेको छ ।