महोत्तरीको पाँच पालिकामा भएको बन्ध्याकरणमा पुरुषको संख्या शुन्य

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको पाँच नगरपालिकामा सम्पन्न भएको बन्ध्याकरण शिविरमा ३ सय ४९ महिलाले स्थायी बन्ध्याकरण (मिनिल्याप) गराए पनी शिविर (क्याम्प) मा पुरुष क्याम्प खाली देखिएको छ । जिल्लाको मटिहानी, भङ्गाहा, मनराशिशवा, रामगोपालपुर र औरही नगरपालिकामा सञ्चालित क्याम्पमा पुरुषले सेवा लिन नपुगेकाले खाली देखिएको हो ।

शिविरमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि ((((मिनिल्याप) बन्ध्याकरणको व्यवस्थासहित चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको टोली परिचालन गरिएकोे स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । हालसम्म पाँच नगरक्षेत्रमा सम्पन्न शिविरमा एक पुरुष पनि सेवा लिन नपुगेको कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् ।

शिविरमा देखिएका पुरुष पनि महिलालाई नै बन्ध्याकरण गराउन पुगेका छन् ।
महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बन्ध्याकरण विशेष शिविर हाल जारी छ । प्रादेशिक अस्पतालमा पनि हालसम्म बन्ध्याकरण गराउन एकजना पनि पुरुष नपुगेको बताईएको छ । प्रदेशिक अस्पताल जलेश्वरमा हालसम्म ७६ महिलाले मिनिल्याप गराएका छन् ।

शिविरमा पुरुष÷महिला दुवैलाई लक्ष्य गरेर विशेष क्याम्प सञ्चालन गरिए पनि पुरुष क्याम्पमा सहभागी जनशक्ति र अन्य तयारीले कुनै काम नपाएको कार्यालयका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक अम्विका दासले बताइन् ।
महोत्तरीको गौशाला, सम्सी, लोहारपट्टि, बलवा, पिपरा र जलेश्वरसहित स्थानीयतहमा शिविर सम्पन्न हुन बाँकी छ । यता प्रादेशिक अस्पतालमा भने निरन्तर यो सेवाको प्रबन्ध मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।