हवल्दारले सेन्ट्रीको राइफल लिएर गोली चलाएको भेटिएपछि बर्खास्तीको तयारी

आज्ञा खबर
सर्लाही
सर्लाहीको बरथवा नगरपालिका–५ मा प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्तीमा पर्ने भएका छन् ।

छानबिनमा क्रममा अनावश्यक बल प्रयोग गरेको पाइएपछि इलाका प्रहरी कार्यालय, बरथवाका वरिष्ठ हवल्दार सोनेलाल यादवलाई बर्खास्त गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो ।

 

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले पनि उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । २० पुसमा अस्पताल स्थापनाको विषयमा विवाद हुँदा बरथवा नगरपालिका–६ का जयशंकर साह मारिएका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार, घटनालगत्तै हवल्दार यादवलाई निलम्बन गरेर छानबिन गर्न भनिएको थियो । यद्यपि, उनलाई जिल्ला प्रहरी कार्यालयमा तानेर राखिएको थियो ।

 

भिड नियन्त्रणमा खट्ने प्रहरीको मनोबल गिर्ने भन्दै कारबाही गर्न प्रहरी हच्किएको थियो । तर, सहसचिव गौतम नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनका क्रममा समेत अनावश्यक रुपमा वरिष्ठ हवल्दार यादवले बल प्रयोग गरेको भेटिएपछि बर्खास्तीका लागि सिफारिस गरिएको हो ।

छानबिन समितिका एक सदस्यका अनुसार, जुन ठाउँमा गोली लागेर साहको मृत्यु भएको छ, त्यहाँ गोली चलाउनुपर्ने स्थिति नै देखिएको छैन । अझ साह इलाका प्रहरी कार्यालय वरथवामा हवल्दार मेजरको रुपमा कार्यरत थिए, जसको जिम्मेवारी हवल्दार र जवानहरुलाई अह्रनखटन गर्नु हुन्थ्यो ।

तर, घटना भएका दिन इलाका प्रहरी कार्यालय, बरथवामा रहेका साह कार्यालयबाहिर गेटमा सुरक्षार्थ खटिएका सेन्ट्रीको एसएलआर (सेल्फ लोडेड राइफल) लिएर बाटोमा निस्किएको पाइएको छानबिन समितिका एक सदस्य बताउँछन् ।

हवल्दार साहले भने आफ्नो हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको स्पष्टीकरण दिएका थिए । तर, छानबिन समितिले संकलन गरेको त्यसदिनको भिडियो फुटेजहरुमा त्यस्तो परिस्थिति नदेखिएको छानबिनमा संलग्न अधिकृतहरु बताउँछन् ।

समिति स्रोतका अनुसार, त्यसक्रममा धेरै मान्छे नभएको स्थानमा साहलाई गोली लागेको देखिएको छ । हवल्दार साहले चलाएको गोली उनको टाउकोमा लागेको मेडिकल जाँचबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी प्रविण धितालले मृतक साहलाई एउटा गोली लागेको देखिएको बताएका छन् ।

वडा नम्बर ६ का वडाध्यक्ष मोहम्मद अफताब आलमले बताएअनुसार, जयशंकर प्रदर्शनमा सहभागी समेत थिएनन् । महसुल तिर्न मोटरसाइकल चढेर विद्युत कार्यालय नजिकै पुगेका थिए, त्यही बेला प्रहरीले चलाएको गोली लागेर उनी सडकमै ढलेका थिए ।

सर्लाही प्रहरी प्रमुख एसपी धितालले छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालय, नक्सालबाट आउने पत्रअनुसार यसमा संलग्नमाथि कारबाही हुने बताए ।

‘अहिलेसम्म पत्र आइसकेको छैन, पत्र आएपछि त्यही अनुसार कार्यान्वयन गर्छौं’, उनले भने । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले त्यसबारे घटनामा गोली चलाउन आदेश नदिएको दाबी गरेका थिए ।
साभार अनलाइन खबर

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...