आज्ञा खबर
सप्तरी
राजबिराज नगरपालिका कार्यालयको परिसरमा वडा सदस्यहरुले बिहीबार धर्ना दिएका छन् ।
सदस्यहरुको सङ्घर्ष समितिले बिहीबार देखि एक घण्टे गरेको धर्ना ७ दिनसम्म नगरपालिका कार्यालयको परिसरमा जारी रहने जनाएको छ ।
जनहितसँग जोडिएका ७ बुँदे माग सम्बोधन नभएपछि थप आन्दोलनका कार्यक्रम अघि बढाईने सङ्घर्ष समितिका संयोजक वडा सदस्य रामानन्द देवले जानकारी दिए ।
नगरपालिकाले बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्नुपर्ने, नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगर सभाबाट पारित भएका योजनाहरूको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग राखिएको समितिका संयोजक देवले जानकारी दिए ।
त्यस्तै, नगरको सुरक्षाका लागि नगर प्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्रि गस्तीको व्यवस्था तथा स्थानीय सरकार सञ्चालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरूलाई अधिकार र जिम्मेवारी दिनुपर्ने सहितका माग छ ।
यसअघि गत पुस २२ गते कार्यवाहक मेयर इसरत परविनलाई ज्ञापन–पत्र बुझाइएको थियो ।